
चिनियाँ सामान बहिष्कारका विषयमा मोटर कम्पनी मारुती सुजुकीले प्रतिबन्धका कारण वस्तुको मूल्य बढ्ने बयान दिएको छ ।
मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले अन्य देशबाट सामान मगाउनु कम्पनीहरूको बाध्यता भएको बताए । त्यही गुणस्तरका सामान कम मूल्यमा भारतमा उपलब्ध नहुने उनको भनाइ छ ।
भार्गवका अनुसार, लामो समयसम्म आयातमा निर्भरता रहँदा व्यापारका लागि फाइदा हुँदैन तैपनि उद्योग व्यवसायले आयातको विकल्प खोज्न सकेका छैनन् ।
चिनियाँ सामान बहिष्कार गर्नु अव्यावहारिक भएको उनको भनाइ छ ।
निर्माण क्षेत्रको ठूलो कम्पनी एल यान्ड टी का सीईओ एसएन सुब्रमण्यमले विदेशी आयात पूरै बन्द गर्ने हो भने पहिला नीति बनाउनुपर्ने अनि भारतमै सामान बनाउनका लागि आधारभूत संरचना आवश्यक पर्ने बताएका छन् ।
यसका लागि कम्तीमा पाँच वर्ष लाग्ने उनको भनाइ छ ।
भारतले सोमवार ५९ चिनियाँ यापहरूमाथि प्रतिबन्ध लगायो । तर अन्य चिनियाँ उत्पादनमा पनि प्रतिबन्ध लगाउन सक्ला त ? व्यवसाय र उद्योग जगतले यापमाथिको प्रतिबन्धबाट कति अघि बढ्न सकिन्छ भन्ने विषयमा बहस गरिरहेका छन् ।
ठूला यन्त्रका पाटपुर्जा, होलीमा फ्याँकिने रंग र औषधि तयार पार्न आवश्यक कच्चा पदार्थ चीनबाट आयात भइरहेको छ । यसलाई अचानक अन्त्य गर्न सम्भव छ ?
भारत र चीनबीच वार्षिक व्यापार लगभग ९० अर्ब डलर छ । यस व्यापारमा भारतले ७० अर्ब डलरको सामान चीनबाट मगाउँछ ।
भारत सरकारले एसी र टीभीमा प्रयोग हुने पाटपुर्जा सहित कम्तीमा १० देखि १२ किसिमका उत्पादनमा लाइसेन्सिङ सिस्टम लागू गर्न खोजिरहेको छ । तिनको आयात रोक्नका लागि यो कदम चालिएको बताइएको छ ।
चीनलाई विचार गरेर यो कदम चालिएको उनीहरू बताउँछन् ।
गलवान भिडन्तपछि नरेन्द्र मोदी सरकारले चीनबाट हुने लगानीको नियममा परिवर्तन ल्याएको छ । अन्लाइन कम्पनीहरूलाई कुनै पनि उत्पादन कहाँ बनेको हो स्पष्ट रूपमा ग्राहकलाई बताउन निर्देशन दिइएको छ ।
सरकारले उद्योग र व्यवसाय जगतको दृष्टिकोण जान्ने कोशिश पनि गरिरहेको छ । वाणिज्य मन्त्रालयले उद्योग महासंघसँग सम्पर्क गरेको छ । यस विषयमा तात्तातो बहस चलिरहेको छ ।
बीबीसी हिन्दीबाट