
निजामति विधेयकलाई लिएर कास्कीका सरकारी कार्यालयमा कार्यरत राजपत्र अनंकित श्रेणीका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।
उनीहरुले निजामती कर्मचारीको वृत्तिविकासलाई अवरोध गर्ने गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकको विरोध गर्दै देशव्यापी आन्दोलनस्वरुप तालनगरी पोखरामा पनि आन्दोलन शुरू गरेका हुन् ।
कर्मचारीहरुले विभिन्न नाराअंकित प्ले–कार्ड बोकेर पोखरा सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालयअघि बुधवार दिउँसो १ घण्टा धर्ना दिएका छन् ।
नासु बचाउ अभियान परिचालन सम्पर्क समिति कास्की संयोजक शिवप्रसाद पौडेलले धर्नापछि जिल्ला प्रशासन कार्यालयमार्फत सभामुखसमक्ष ६ बुँदे ज्ञापनपत्र पठाइएको जानकारी दिए ।
कर्मचारीले राप तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरक÷अन्तरतह प्रतिष्पर्धाको व्यवस्था हुनुपर्ने, तर कुनै पनि साविकको अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरी खुला विज्ञापन गर्नुपर्ने माग राखेका छन् ।
यस्तै, निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुला प्रतिष्पर्धाबाट लोकसेवा आयोग परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउनुपर्ने, सबै सेवा समूहका कर्मचारीलाई सम्बन्धित सेवा समूहमा नै बढुवा लगायत वृत्ति विकासको व्यवस्था गर्ने, अर्को सेवा समूहलाई प्रभाव पार्ने गरी सेवा समूह परिर्वतन गर्न नपाउने व्यवस्था मिलाउने, सबै तहमा श्रेणीगत वा तहगत समान व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
ब्यानर बोकेर आन्दोलनमा सहभागी नासु नवीन पौडेलले आफूहरुको माग राज्यले उचित सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको बताए ।
कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै आन्दोलनकारीले बढुवा प्रतिशत ३० प्रतिशत कायम गर, विभेदकारी ऐन खारेज गर, निजामती कर्मचारीलाई उमेरहद हटाऊ, १२ वर्षमा स्वतः बढुवा व्यवस्था होस्, माननीयज्यू, तपाईलाई भुइँ तहका कर्मचारीको आँसु लाग्ला है, माननीयज्यू, तल्लो तहको कर्मचारीलाई हेला नगर्नुहोस्, प्रतिष्पर्धात्मक परीक्षामा उमेह हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था कायम गर लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।
विधेयकमा कर्मचारीमाथि विभेद गरिएको भन्दै मंगलबार काठमाडौं सिहदरबारबाट नासुहरुले आफ्नो आन्दोलन अभियान देशव्यापी बनाउँदै लगेका छन् ।



