
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार कार्यकालको सय दिन पूरा गरेका छन् । प्रायः सबैजसो विश्लेषकहरूले उनको सय दिने कार्यकाल अत्यन्तै खराब रहेको टिप्पणी गरिरहेका छन् ।
ट्रम्प आफैंले चाहिँ आजसम्मको कुनै पनि प्रशासनले पहिलो सय दिनमा यति धेरै उपलब्धि हासिल गर्न नसकेको घमण्ड गरे । उनका झुटको शृंखलाको यो अर्को कडी मात्र हो भनी बुझ्नुपर्छ । वास्तवमा उनको एउटै मात्र सफलता भनेको सर्वोच्च अदालतमा कन्जर्भेटिभ विचारधाराका नील गोर्सचलाई नियुक्त गर्नु हो । त्यसले उनको रिपब्लिकन दललाई थोरबहुत राहत पुग्यो होला तर अमेरिकी जनतालाई त्यो नियुक्तिले जीवनस्तर सुधारमा कुनै योगदान गर्दैन ।

निर्वाचन अभियानका बेलामा गरेका कुनै पनि वाचा पूरा गर्न ट्रम्प असमर्थ रहे । मेक्सिकोको सिमानामा पर्खाल लगाउने काम फिटिक्कै शुरु भएको छैन र मेक्सिकोले यसका लागि पैसा तिर्ने छाँट पनि देखिँदैन । ओबामाकेयर स्वास्थ्य सेवालाई खारेज गरेर नयाँ सेवा पनि ट्रम्पले ल्याउन सकेका छैनन् । करप्रणालीमा सुधार आएको छैन अनि भौतिक निर्माणमा पनि कुनै प्रगति देखिँदैन ।
सात मुसलमानबहुल देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाउने उनको आदेश पनि अदालतको रोकका कारण थन्केर बसेको छ । अनि आप्रवासनसम्बन्धी कुनै पनि नीति उनले पारित गराउन सकेका छैनन् जबकि अमेरिकाका दुवै सदनमा उनको रिपब्लिकन पार्टीकै बहुमत छ ।
अमेरिकामा रोजगारीहरूको सिर्जना भएपनि त्यो ट्रम्पका कारण भएको होइन, पूर्ववर्ती ओबामा प्रशासनले त्यसको आधारभूमि तयार पारिदिएको थियो । यी यावत कमजोरीहरूका कारण उनको वर्तमान समर्थन सूचक अत्यन्तै न्यून छ ।

अमेरिकाबाहिरको विश्वका सन्दर्भमा पनि ट्रम्पले कुनै परिवर्तन ल्याउन सकेनन्, झन् युद्धको खतरनाक स्थिति पो ल्याइदिए । निर्वाचन अभियानका बेलामा ट्रम्पले आफू अमेरिकाको मात्र नेता हुन चाहेको, विश्वको होइन भनी दाबी गरेका थिए । आफ्नो ध्यान अमेरिकामा मात्र लगाउने अनि अन्य देशको शासन परिवर्तनमा चासो नदिने उनले बताएका थिए ।
यसबाट केही व्यक्तिहरूमा आशावादी अपेक्षाहरू पलाएका थिए । ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले रक्तरञ्जित विदेशनीति त्याग्ला र अर्को देशमा हस्तक्षेप नगर्ला भन्ने अपेक्षा राखेका मानिसहरू अहिले आएर चरम निराश भएका छन् । सिरियामाथि अप्रमाणित अपराधको दण्डस्वरूप टोमाहक क्षेप्यास्त्र प्रहार गर्ने अनि उत्तर कोरियालाई उत्तेजित पार्ने तथा रुससँगको सम्बन्ध झन् खराब बनाउने लगायतका काम ट्रम्पले गर्न पुगेका छन् ।

यमन र सिरियामा आतंकवादलाई प्रोत्साहन गर्ने साउदी अरबलाई च्यापेर इरानलाई अनावश्यक रूपमा चिढ्याउने अनि चीनका विरुद्ध पहिला जथाभावी बयान दिएर उत्तेजित बनाउने अनि पछि चीन त अमेरिकाका लागि आवश्यक देश रहेछ भनी ट्वीट गर्ने ट्रम्पको बानीले उनको केटाकेटीपन झल्किएको देखिन्छ ।
सैन्य तथा हतियार उद्योग र तिनले किनेका मूलधारे पत्रकारहरूले ट्रम्पलाई रुसको कठपुतली भनी गिल्ला गरिरहँदा उत्तेजित भएर ट्रम्पले रुसको साझेदार सिरियामाथि आक्रमण गर्न पुगे । आफूलाई सबैले जतिखेर पनि राम्रो भनून् भन्ने अहंवादी अपेक्षा राख्ने ट्रम्प त्यसपछि त ती पत्रकारको पनि आँखाको नानी बन्न पुगे ।
अझ त्यसमाथि उनले अफगानिस्तानमा अहिलेसम्मकै ठूलो गैरआणविक बम खसाए अनि उत्तर कोरियालाई युद्ध गर्न उक्साउनका लागि कोरियाली प्रायद्वीपमा अमेरिकी जलसेना तैनाथ गर्न पुगे ।

अन्तर्राष्ट्रिय सम्बन्धका अध्येताहरूले एकान्तवाद (आइसोलेसनिजम) नै अमेरिकाको वस्तुवादी (रियलिस्ट) विदेशनीति हुनुपर्ने बताउँदै आएका छन् । अमेरिकाले आदर्शवादी विदेशनीति अपनाएर पश्चिमी उदारवादी लोकतन्त्रलाई युद्धमार्फत अन्यत्र लाद्न खोज्ने गरिरहेकोमा ट्रम्पबाट दिशापरिवर्तनको अपेक्षा गरिएको थियो । तर बमवर्षा र युद्धतयारीमार्फत उनले युद्धको अन्त्यहीन शृंखला र संसारमा आधिपत्य जमाउन अमेरिकी सैन्यवादको उपयोगकै पुरानो नीति अपनाउन पुगेका छन् ।
प्रणालीलाई नै बदल्छु भनेर हिँडेका गैरराजनीतिक पृष्ठभूमिका ट्रम्प छिट्टै नै संस्थापनको हिस्सा हुन पुगे । रणनीतिक सम्बन्धका बारेमा कुनै पनि ज्ञान नभएका राष्ट्रपतिलाई सैनिक पृष्ठभूमिका अनि युद्धपिपासु व्यक्तिहरूले घेरेका छन् ।

चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा ट्रम्पले ‘उत्तर कोरिया र चीनको सम्बन्ध यति जेलिएको छ भन्ने मलाई थाहै थिएन’ भन्नु अनि उनीसँग चकलेट केक खाँदै गर्दा ‘मैले त सिरियामा क्षेप्यास्त्र हानें नि’ भन्दै केटाकेटी पारा देखाउनुबाट विश्वमा युद्धको छायाँ मडारिने संकेत पाइएको छ ।
अमेरिकाले उत्तर कोरियाको हतियार कार्यक्रम बन्द गराउन बल प्रयोग गर्ने जुन किसिमको धम्की दिइरहेको छ त्यसले उत्तरपूर्वी एसियामा ठूलै युद्ध चर्किने छनक पाइँदैछ । उपराष्ट्रपति माइक पेन्सले ओबामाकालमा जस्तो उत्तर कोरियाप्रति 'रणनीतिक धैर्य' कायम नराख्ने र 'ढालको साटो तरवार प्रयोग गर्ने' बताएर यसको प्रस्ट संकेत दिइसकेका छन् ।
अमेरिकाले उत्तर कोरियाको संकट समाधानका लागि सबै विकल्प खुल्ला रहेको बताएपनि यसको शान्तिपूर्ण समाधान त्यति सजिलो छैन । आणविक हतियार कार्यक्रम बन्द गरेपछि इराकका सद्दाम हुसेन र लिबियाका मुअम्मार गद्दाफीलाई अमेरिका र पश्चिमले गल्लीको कुकुरलाई झैं अपमानजनक रूपमा मारेको घटना उत्तर कोरियाली शासक किम जोङ–उनलाई थाहा छ । त्यसैले उनी आणविक हतियार कुनै पनि हालतमा त्याग्ने पक्षमा छैनन् ।

आफ्नो सुरक्षाको भरपर्दो बन्दोबस्त हुने र प्राविधिक रूपमा युद्धकै स्थितिमा रहेका उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता गर्ने अनि अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास नगर्ने हो भने प्योङयाङले आणविक निःशस्त्रीकरण स्वीकार्ने संकेत देखाएको छ । त्यसमाथि आगामी महिना दक्षिण कोरियामा हुन लागेको आमनिर्वाचनमा उत्तर कोरियाप्रति नरम धारणा राख्ने मून जाए–इन निर्वाचित हुने सम्भावना छ ।
त्यसैले अमेरिकाले अझै पनि रणनीतिक धैर्यता राख्नुपर्ने देखिन्छ तर अमेरिकाका युद्धवादीहरूले ट्रम्पलाई तत्काल युद्धका लागि भड्काउन कुनै कसर बाँकी राखेका छैनन् ।
पहिलो सय दिनमा यसरी ट्रम्पले लोकरञ्जनवादी र वस्तुवादी विदेशनीतिलाई पूरै परिवर्तन गरेर पूर्ववर्ती प्रशासनकै युद्धवादी नीतिलाई अपनाएका छन् । अमेरिकामा एउटा भनाइ प्रख्यात छ : जिन्दगीमा निश्चित भनेका जम्मा दुई कुरा छन्, मृत्यु र कर । त्यसमा अब सैन्यवादी विदेशनीतिको निरन्तरता पनि जोड्नुपर्ने देखिन्छ ।
यो सामग्री तयार पार्न आरटीमा प्रकाशित नील बोवीको लेख र स्पाइक्डमा प्रकाशित सीन कोलिन्सको लेखलाई मुख्य आधार बनाइएको हो ।