०८ साउन २०८३, शुक्रबार

अमेरिकालाई पछि पार्दै चीन प्रविधिमा अग्रणी बनेको हो ?

असार १८, २०७७
अमेरिकालाई पछि पार्दै चीन प्रविधिमा अग्रणी बनेको हो ?

चीनमा सामाजिक अंक (सोसल स्कोर) राख्ने गरिन्छ र त्यस अंकलाई अद्यावधिक राख्ने कामको आधा जिम्मेवारी मशिनलाई दिने गरिएको छ । 

जस्तो, तपाईंले कर र बिलहरू समयमा तिर्नुभयो भने अंक पाउनुहुन्छ अनि ट्राफिकमा रेड लाइट बेवास्ता गर्दै गाडी कुदाउनुभयो भने अंक घट्छ । 

यस अंकलाई रेकर्ड गर्ने यन्त्रहरूले नै व्यक्तिको व्यवहार राम्रो छ कि नराम्रो भनी फैसला गर्ने गरेका छन् ।

निकट भविष्यमा चीन कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को महाशक्ति बन्न सक्ने देखिएको छ । 

अमेरिका र चीनबीच होड चलिरहँदा महाशक्ति बन्नका लागि चीनले प्रविधिको बाटो अपनाइरहेको छ । 

कृत्रिम बौद्धिकतामा मात्र नभई आवाज र अनुहार चिन्ने प्रविधि, विशाल आँकडा तथा यन्त्रमानवको क्षेत्रमा पनि चीन अहिले संसारको अग्रणी मुलुक हो । 

चीनले स्वदेशी विमान पनि बनाइसकेको छ । अनि ४०० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिने पहिलो बुलेट ट्रेन पनि उसले बनाएको छ । त्यसको मोडल निर्यात गर्न ऊ तम्तयार भएर बसेको छ । 

चीनमा एप्पल, जीएम, फोक्सवागन र टोयोटा जस्ता विश्वविख्यात कम्पनीहरू कारखाना र अनुसन्धान केन्द्र चलाइरहेका छन् । 

सन् २०१५ मा चीन सरकारले १० वर्षको एक भिजन पेश गरेको थियो जसको उद्देश्य चीनलाई उद्योग तथा प्रविधिको क्षेत्रमा शक्तिशाली बनाउनु थियो । 

चीनले अब सस्ता जुत्ता, कपडा र खेलौना निर्यात गर्ने आफ्नो छविमा परिवर्तन ल्याउन खोजेको स्पष्ट बताइसकेको छ । राष्ट्रपति सी चिनफिङले चीनलाई साइबर शक्ति बनाउन चाहेको स्पष्ट पारिसकेका छन् । 

त्यस योजनाका लागि चीनले निकै धेरै पैसा खर्च गरिसकेको छ । विदेशी कम्पनीहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रविधि हस्तान्तरणका लागि दबाब पनि उसले दिइरहेको छ । 

चीनको बजारमा प्रवेश गर्नका लागि कुनै पनि विदेशी कम्पनीले स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने हुन्छ । 

यसबाहेक चीनले आफ्नो रणनीतिअन्तर्गत विदेशी कम्पनीहरूलाई किन्ने पनि गरेको छ । जस्तो, मर्सिडिज बेन्ज कार बनाउने जर्मन कम्पनी ड्यामलरमा चिनियाँ कम्पनी गिली सबभन्दा ठूलो शेयरहोल्डर बनिसकेको छ । 

चीनका कानूनहरूले प्रविधि कम्पनीहरूलाई स्थायी रूपमा रहनका लागि बाध्य बनाएका छन् । 

उदाहरणका लागि, एप्पल कम्पनीले चीनमा एक स्थानीय कम्पनीसँग मिलेर पहिलो डेटा स्टोरेज सेन्टर खोल्न खोजेको छ । उसले चिनियाँ सरकारका सबै नयाँ नियम पालन गर्नुपर्ने हुन्छ । यसबाट कम्पनीसँग जोडिएका सबै महत्त्वपूर्ण जानकारीहरू चीनले प्राप्त गर्छ । 

चीनले सेनामा कृत्रिम बौद्धिकतालाई पनि बढाइरहेको छ । यसमार्फत निकै टाढा बसेर हतियार परिचालन गर्दै युद्धलाई नियन्त्रण गर्न सकिन्छ । 

चीनले कृत्रिम बौद्धिकता भएका क्षेप्यास्त्र विकसित गरिरहेको छ जसले लक्ष्य पत्ता लगाएर मानवीय सहायता विना नै त्यसमाथि आक्रमण गर्न सक्छ । 

चीनको समाचार संस्था सिन्ह्वाका अनुसार, सन् २००७ देखि चीनले युद्धको मैदानमा तीव्र गति तथा सटीकताका साथ निर्णय लिन सहज बनाउने सफ्टवेयर विकसित गरिरहेको छ । 
 

ड्रोन प्रविधिमा पनि चीन निकै अगाडि छ । अमेरिकाले आफ्नो ड्रोन कुनै पनि देशलाई दिन नमानेको अवस्थामा चीनले यो प्रविधि अन्य देशमा निर्यात गर्ने बताइरहेको छ । 

अमेरिकासँग निकट नरहेका देशमा चीनले सैन्य प्रविधि निर्यात गरिरहेको छ । 

चीनले इजिप्ट, नाइजेरिया, पाकिस्तान र बर्मा लगायतका देशलाई ड्रोन बेचेको इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजले जनाएको छ । 

चीन प्रविधिको शक्ति पाउनका लागि आविष्कारलाई जरूरी ठान्दैन । उसका लागि प्रविधि जुनसुकै भए पनि त्यसलाई प्राप्त गरेर उपयोग गर्ने नै प्रमुख लक्ष्य हो ।
 

हार्वर्ड बिजनेस रिभ्युका अनुसार, चीन आविष्कारमा अहिले पछि नै छ । 

स्मार्टफोनको चिप डिजाइन टूलका लागि चीनले अहिले अमेरिका र जर्मनीको मुख ताक्नुपरेको छ । सेमीकन्डक्टर बनाउनका लागि पनि चीनले सफलता पाएको छैन । 

चीनका लागि नाफा नै शक्ति हो ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्