१५ असार २०८३, सोमबार

चेपाङ र तामाङले चलाउँछन् घट्ट

कात्तिक २०, २०७४
चेपाङ र तामाङले चलाउँछन् घट्ट
रत्ननगर (चितवन), ८ पुस - सहरबजारमा पानी घट्टका बारेमा जानकारी हुने मान्छे कमै होलान् । कतिपयलाई घट्ट कस्तो हुन्छ भन्ने पनि थाहा छैन होला । तर पहाडी क्षेत्रमा भने मानिसलाई दैनिकी गुजार्न पानी घट्ट महत्वपूर्ण मानिन्छ ।

खोलाको एउटा कुनाबाट कुलो खनेर पानी ल्याइन्छ । अलि अग्लो स्थानमा पुगेपछि काठको डुँड बनाएर पानी डुँडबाट खसालिन्छ । अनि तल काठकै भमरा (पानीले चल्ने मेसिन) जडान हुन्छ । भमराको माथिल्लो पट्टि मानीमा ठूलो ढुङ्गा कुँदेर बनाइएको गोलो घट्ट जोडिएको हुन्छ । पोथी घट्टलाई माटोमा टाँसेर राखिएको हुन्छ भने भाले घट्टलाई घुम्न मिल्ने बनाएर राखिएको हुन्छ । घट्टमाथि डोरीले चारतिर बाँधेर सोली झुण्ड्याइएको हुन्छ ।

जब माथि डुँडबाट खसालेको पानीको दबाबले भमरा घुम्छ अनि घट्ट चल्न थाल्छ । सोलीको तल्लो भागमा काठको चरा (चरा आकारको काठ) जोडिएको हुन्छ जुन चराले घट्टलाई पनि छोएको हुन्छ । घट्ट घुम्दा त्यही चरा घट्टमाथि उफ्रन्छ । त्यसैको कम्पनले सोलीभित्र भएको अन्न घट्टको प्वालमा खस्छ र अन्न पिस्न थाल्छ ।

यसैगरी चल्ने चितवनको पहाडी क्षेत्र कोराकमा पानी घट्ट चलाउने अधिकांश चेपाङ र तामाङ समुदाय छन् । पछिल्लो समयमा लोपोन्मुख बन्दै गएको पानी घट्ट सञ्चालन गर्ने सबै गरिब परिवारका छन् । चितवनमा हरियो वन कार्यक्रमले गरेको घट्टको अध्ययनमा यस्तो तथ्य बाहिर आएको हो । चितवनको शक्तिखोरका एकजना दलबहादुर चेपाङले यहाँको पहाडी क्षेत्रमा घट्टमै चेपाङ निर्भर हुने गरेको बताउनुभयो । तर पानी अभाव र आधुनिकताले घट्ट हराउँदै गएको उहाँको भनाइ छ ।

चितवनको पूर्वी पहाडी क्षेत्रमा रहेको कोराक गाविसमा यसरी घट्टको अध्ययन भएको हरियो वन कार्यक्रम अनुगमन तथा मूल्याङ्कन सहायक आस्था क्षेत्रीले जानकारी दिनुभयो ।

चितवनमा आठवटा पहाडी गाविस छन् । ती अधिकांश गाविसमा कुनै न कुनै क्षेत्रमा पानी घट्ट छ । दैनिक अन्न कुटानी–पिसानी गरेर खानाको जोहो यही घट्टबाट हुन्छ । त्यसमध्ये कोराक गाविसमा पछिल्लो पटकको सर्वेक्षणमा १६ वटा पानी घट्ट भेटिएका छन् । क्षेत्रीका अनुसार ती घट्ट विपन्न परिवारका सदस्यले चलाउँछन् ।

“कोराकमा पहिले धेरै पानी घट्ट थियो, अध्ययनमा सक्रिय रहनुभएका हरियो वन कार्यक्रमका कार्यक्रम सहायक भाष्कर चौधरी भन्नुहुन्छ, अहिले घटेर १६ मा झरेको हो ।” उहाँका अनुसार मुख्यगरी मेसिनरीको बढ्दो प्रयोगसँगै घट्ट लोप हुँदै गएको हो ।

उनीहरुको जीविकोपार्जन कसरी हुन्छ भनेर यहाँ अध्ययन भएको थियो । यसरी हेर्दा १६ मध्ये ११ वटा घट्ट चेपाङले चलाउँछन् । कोराक गाविसमा पानी घट्ट चलाउनेमध्ये ६९ प्रतिशत चेपाङ पाइएका छन् । ३१ प्रतिशत तामाङ रहेको पाइएको चौधरी बताउनुहुन्छ ।

ती घट्टबाट प्रतिवर्ष औषत रु ३० हजार १३ आम्दानी हुँदै आएको सर्वेक्षणले देखाएको छ । घट्ट सञ्चालनमा भने कहिल्यै वादविवाद नहुने गरेको पाइएको उहाँको भनाइ छ । यसरी घट्टमा कुटानी–पिसानीका लागि आउने ४० प्रतिशत महिला देखिएका छन् । पुरुष ३३, बालबालिका २३ र गर्भवती महिला चार प्रतिशत जान्छन् । उनीहरुबाट सबैभन्दा बढी ३० प्रतिशत कोदो पिसानी हुने गरेको पाइएको छ । यस्तै, मकै २९, गहुँ १८, धान चार, जौ दुई र फापर १७ प्रतिशत कुटानी–पिसानी हुन्छ ।

चितवन जिल्लाका विभिन्न क्षेत्रमा हरियो वन कार्यक्रम लागू भएको छ । कोराकमा लागू भएको कार्यक्रमअन्तर्गत स्थानीयवासीको अवस्था पत्ता लगाउन पानी घट्टको सर्वेक्षण भएको कार्यक्रमका फिल्ड अफिसर सुशिल जोशी बताउनुहुन्छ ।

हरियो वनले चितवनमा घाँसेमैदान व्यवस्थापन, सिमसार क्षेत्र व्यवस्थापनसँगै संरक्षणका कार्यक्रम चलाएको छ । विगत पाँच वर्षदेखि सञ्चालित यो कार्यक्रमले यो क्षेत्रमा रु तीन करोड ३८ लाखको कार्यक्रम सञ्चालन गरेको र अब दोस्रो चरणको कार्यक्रम सुरु हुने जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्