
काठमाडौं १७ वैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गतेको निर्वाचन हरहालतमा हुने दोहोर्याएका छन् ।
वैशाख १९ गते हुने उम्मेदवारको मनोनयनलाई उत्सव बनाउन संसदको बैठक पाँचदिन पर सारिएको उनले बताए । आइतवार व्यबस्थापिका संसदको बैठकपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले उम्मेदवारी मनोनयनमा सांसदहरुलाई समेत सहभागि गराउन संसद बैठक २१ गतेसम्म स्थगित भएको बताएका हुन् ।
यसअघि संशोधन विधेयकमाथि छलफल गर्न आइतवारका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर बिहीवारसम्मका लागि स्थगित भएको थियो । ‘पर्सि नोमिनेसनको दिन छ, वैशाख ३१ गते चुनाव हुन्छ, कुनै कन्फुजन नहोस्’ प्रचण्डले भने ।
सरकारले पहिलो चरणको चुनावलाई महत्व दिएको र संशोधन विधेयक पारित गरेर दोस्रो चरणको निर्वाचन सुनिश्चित गर्न खोजेको बताए । प्रचण्डले केही दिनमै संशोधन पारित हुने र मधेशी मोर्चापनि दोस्रो चरणको चुनावमा भाग लिने बताए ।