
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो पक्षमा आन्दोलन चर्काउन युवाहरूलाई निर्देशन दिएका छन् ।
बिहीवार राति ११ बजे ओलीले आफू पक्षका युवाहरूलाई बालुवाटार बोलाएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग गर्न थालेपछि ओलीले सडकमा आउन आफूनिकटका युवाहरूलाई निर्देशन दिएका हुन् ।
'उहाँले राष्ट्रका पक्षमा सडकमा आउन हामीलाई आग्रह गर्नुभयो,' मध्यरातमा बालुवाटार पुगेका पूर्वएमालेनिकट युवा संगठनका एक पदाधिकारीले बताए ।
उनले प्रधानमन्त्रीको निर्देशनबमोजिम शुक्रवारबाट नै देशव्यापी आन्दोलन शुरू हुने दाबीसमेत गरे ।