
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमित भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
पछिल्लोपटक काठमाडौं बानेश्वरका ८५ वर्षीय पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उच्च रक्तचाप र पार्किन्सनका बिरामी उनी मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएको र असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कोभिड- १९ संक्रमितको कुल संख्या भने १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिएको छ ।
संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।