सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ ।
काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।
वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो ।
केही समययता सापकोटाको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरूको सल्लाहमा बुधवार शल्यक्रिया गरिएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेे गरी सभामुख सापकोटा स्वयंले बेहोरेको न्यौपानेले बताए ।
शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।