
काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ९ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ ।
उपत्यकामा चालकको लापरवाहीबाट ८ हजार ४७२ दुर्घटना भएको छ । मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट ४ र मौसम/चौपायाबाट ५ दुर्घटना भएका छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । ‘तीव्र गति, मादक पदार्थ सेवन, गाडी तन्दुरुस्त अवस्थामा नराख्ने प्रवृत्तिका कारण पनि बढी दुर्घटना हुने गरेको छ,’ उनी भन्छन् ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी रहेका छन् । महाशाखाका अनुसार आव २०७६/७७ मा उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाको मृत्यु भएको छ । जसमा १७ देखि ३५ वर्षका ९४ जना रहेका छन् ।
यस्तै १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जना रहेका छन् । उपत्यकामा गत आव २०७५/७६ मा सवारी दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुईपांग्रे चालक बढी रहेका छन् । आव २०७६/७७ मा सवारी दुर्घटनाबाट ७६ जना दुईपांग्रे (मोटरसाइकल/स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट ५, ट्रक दुर्घटनाबाट ५, टिप्पर दुर्घटनामा ३ र कार दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।
उपत्यकामा बिहान र बेलुकाको समय भन्दा दिउँसोको समयमा बढी दुर्घटना हुने गरेको छ । उपत्यकामा आव २०७६/७७ मा दुर्घटना भएका ९ हजार ४६१ सवारीसाधनमध्ये दिउँसोको समयमा बढी दुर्घटना भएको देखिन्छ ।
बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म ३ हजार ७८६ दुर्घटना भएका छन् । बिहान ६ बजेदेखि १२ बजेसम्म २ हजार ९०६, बेलुका ६ बजेदेखि राति १२ बजेसम्म २ हजार २८५ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ४८४ दुर्घटना भएका छन् ।
महाशाखा प्रमुख ढकाल दिउँसोको समयमा सडकमा अत्याधिक सवारीसाधन निस्कने र तीव्र गतिका साथ चलाउने कारण बढी दुर्घटना हुने गरेको बताउँछन् ।
उपत्यकामा १ ट्राफिक प्रहरीले १ हजार २८४ सवारीसाधन व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उपत्यकामा ट्राफिक जनशक्तिको दरबन्दी १ हजार ८७ रहेपनि हाल १ हजार ४०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौं उपत्यकामा ४० ट्राफिक प्रहरी एकाई रहेको छ । उपत्यकामा २ हजार ८३ किलोमिटर सडक छ । यातायात व्यवस्था विभागका अनुसार आव २०७६/७७ को कात्तिक मसान्तसम्म वाग्मती अञ्चलमा १३ लाख ९६ हजार ५५० सवारीसाधन दर्ता भएका छन् । जसमध्ये ९ लाखको हाराहारीमा उपत्यकामा सञ्चालित छन् । देशभर ३५ लाख ३९ हजार ५१९ सवारीसाधन रहेका छन् । – अच्युत रेग्मी/रासस