
सत्तारूढ नेकपामा किचलो चलिरहँदा चिनियाँ राजदूत होउ याङ्छीले विभिन्न नेताहरूसँगको भेटघाट तीव्र बनाइरहेकी छन् ।
उनले राष्ट्रपति विद्या भण्डारी, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई भेटिसकेकी छन् । पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न उनले समय मागेको भए पनि प्रचण्ड उनीसँग भेट्न अनिच्छुक रहेको बताइएको छ ।
चिनियाँ राजदूतका गतिविधिलाई नेपालको आन्तरिक राजनीतिमा अनावश्यक हस्तक्षेपका रूपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग असहज सम्बन्ध, नेपाल–भारत सीमा विवाद अनि अहिलेसम्म
भारतको प्रभावक्षेत्रका रूपमा रहेको नेपालमा चीनको खुला हस्तक्षेपका कारण भारतको कान पनि ठाडो भएको छ ।
राजदूतको भेटघाटका चर्चा चल्दै गर्द सत्तारूढ नेकपाको सोमवार हुनुपर्ने स्थायी कमिटी बैठक स्थगित गरियो । त्यसमा ओलीको राजीनामाको विषय टुंगोमा पुग्ने अपेक्षा गरिएको थियो ।
राजदूत होउले यसअघि पनि नेकपा नेताहरूसँग भेटघाट गरिसकेकी छन् । ओलीको विरोध बढिरहेको चिनियाँ राजदूतको कदमले मानिसहरूको ध्यान आकर्षण गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्रमुख खड्ग केसीले भने, ‘राजनीतिक खिँचातानीका बीच राजदूत र नेकपा नेताहरूबीचको भेटघाटले विभिन्न अनुमान जन्माएको छ । मेरो विचारमा नेपालको आन्तरिक राजनीतिमा कुनै पनि बाह्य हस्तक्षेप हुनुहुँदैन ।’
सन् २००६ मा भारतको सहयोगमा सत्तामा पुगेका नेपाली कम्युनिस्टहरूमा अहिले चीनको प्रभाव बढी छ । वरिष्ठ पत्रकार युवराज घिमिरेले त्यसलाई नेपाली जनतामा भारतप्रतिको दृष्टिकोणमा आएको परिवर्तनका रूपमा हेर्न मिल्ने भनेका छन् ।
भारतसँग लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा भएको विवादपछि ओलीले केही मानिस सरकार गिराउन लागिपरेको बताएका थिए । त्यतिखेर नेकपाका अन्य नेताले यसको प्रमाण दिन वा पद छोड्न माग राखेका थिए ।
यसैबीच काठमाडौंका तीन होटलमा भारतीय जासूसहरूको खोजीमा छापा मारिएको खबर पनि आयो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक राजनीति विदेशी शक्तिले चलाएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । नेपाल सार्वभौम देश भएको र कुनै पनि शक्तिको हस्तक्षेप सह्य नहुने भन्दै उनले गरेको ट्वीटको थप व्याख्याका लागि सोध्दा उनले कुनै विशेष व्यक्तिलाई तोकेर नभनेको बताए ।
श्रेष्ठले त्यसो भने पनि वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालमा चीनको बढ्दो प्रभावलाई अस्वीकार गर्न नसकिने बताए । यो नेपालमा भारतको अपत आक्रामक नीतिको प्रतिक्रियाका रूपमा हेरिनुपर्ने उनको कथन छ ।
‘आफू चाहिँ माओवादीहरूलाई देशको आन्तरिक सुरक्षाका लागि सबभन्दा ठूलो खतरा भन्ने अनि छिमेकी मुलुकमा माओवादीहरूलाई सत्तामा सहभागी गराउने ? अनि तीनतिरबाट आफूले भौगोलिक रूपमा घेरेको मुलुकविरुद्ध नाकाबन्दी लगाउने ? यसको असर जनतामा कस्तो पर्छ अनि राजनीतिकर्मी त्यसबाट अलग कसरी रहन सक्छ ?’ घिमिरे प्रश्न गर्छन् ।
सीमा विवाद जस्ता घटनाले भारतविरोधी वातावरण थप चर्काएको उनको भनाइ छ ।
भारतप्रति नेपालको सोचमा परिवर्तन आइरहेको अनि एसियामा आफ्नो प्रभाव विस्तार गर्न लागिपरेको चीनले लगानीदेखि सामरिक सम्बन्ध बलियो बनाउनेसम्मको कोशिश गरिरहेको अवस्था छ ।
घिमिरेका अनुसार, चीनले नेपालमा अहिले जे गरिरहेको छ भारतले पहिलेदेखि नै त्यो गर्दै आएको थियो । तर नेपालीहरू दुवै छिमेकीसँगको सम्बन्ध समदूरीमा आधारित हुनुपर्ने बताउँछन् ।
बीबीसी हिन्दीबाट