
पोखरामा बिनामास्क हिँड्ने २१ जना पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कोरोना भाइरस (कोभिड-१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिँडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो ।
वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगर इकाइले पोखरामा बुधबार मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गरेपछि पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालय पठाएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही १ सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता हमालले बताए।
कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ।
गृह मन्त्रालयले २ दिनअघि सूचना जारी गर्दै कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, घरबाहिर हिड्दा अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने तथा पूर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको थियो।
सोको बर्खिलाप गरेमा सरकारले संक्रामक रोग ऐन,२०२० अनुसार १ महिनासम्म कैद वा १ सय रुपैयाँ तथा दुवै सजायको व्यवस्था गरेको छ।
पोखरामा बुधबारमात्रै १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार १ सय २९ छ। नेपालभर १६ हजार बढी कोरोना भाइरस संक्रमित छन्।