
स्वास्थ्य चौकीमा पूर्वाधार र कोठा अभावमा सर्वसाधारण जनता खुला आकाशमुनी उपचार गर्न बाध्य भएका छन् । उपचार कक्ष नभएपछि डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाको खिरसैनमा स्वास्थ्य चौकीमा खुला आकाशमुनी बेन्चमा राखेर उपचार गरिएको छ ।
स्वास्थ्य चौकीमा एकजना अहेब र अनमी रहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले लोकान्तरलाई जानकारी दिए ।
‘पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ खिरसैनमा रहेको स्वास्थ्य चौकीमा कोठा अभावमा खुलास्थानमा राखेर उपचार गर्नु परेको हो,’ अध्यक्ष बोगटीले लोकान्तरसँग भने, ‘अहिलेसम्म २ कोठे भवनबाट काम चलेको छ । यसवर्ष नयाँ भवनका लागि जग्गा किन्ने योजना बनाएका छौं ।’
एउटा कोठामा सामान्य ओडिपी राखेर स्वास्थ्य चौकी संचालन भइरहेको गाउँपालिका अध्यक्ष बोगटीले बताए । सामाजिक संजालमा चर्चा भएको तस्वीरमा एक स्वास्थ्यकर्मीले खुला आकाशमुनी दुईजना महिलालाई स्लाइनपानी दिएर उपचार गरिरहेकी छिन् ।
उपचार गरिरहेकी महिला अनमी गंगा माझी हुन् । पूर्वाधार अभावमा एउटा स्ट्याण्ड राखेर दुईजनालाई स्लाइनपानी चढाइएको छ । वर्षायाम लागे लगत्तै गाउँमा झाडा पखाला र ज्वरोका बिरामी देखिएका छन् ।
डोटीको पूर्वीचौकीमा देखिएको दृष्यले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको दुरावस्था देखाएको छ ।
तस्वीर महादेव भारतीको ट्वीटरबाट