चिनियाँहरूलाई पोलिरहने 'बेइज्जतीको शताब्दी', चिङ साम्राज्यतर्फ फर्किन खोज्दै सी !

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

छोटो समयमा आश्चर्यजनक प्रगति गरेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएपछि चीनको परराष्ट्रनीतिमा आक्रामकता र जोधाहापन देख्न थालिएको छ ।

आफ्नो छिमेकमा रहेका धेरै मुलुकसँग अहिले चीनले भूभागका विषयमा विवाद गरिरहेको छ । भारतसँगको सीमाविवादको स्थायी समाधान नहुँदा बेलाबेलामा तनाव र युद्धको स्थिति आइरहेको छ । लद्दाखमा भएको ताजा विवादमा भारतका २० सैनिक मारिएका छन् भने चीनतर्फको हताहतीको विवरण सार्वजनिक भएको छैन ।


Advertisement

भुटानको साकतेङ वन्यजन्तु आरक्ष पनि विवादित भूमि भएको भन्दै चीनले यूएनडीपीलाई त्यहाँ लगानी गर्न रोक लगाउन खोजेको छ । भुटानले उक्त भूभाग आफ्नै भएको भनी विरोध गर्दा चीनले आधिकारिक घोषणा गरेरै चीन र भुटानबीचको सीमा निर्धारण नभइसकेको अनि पूर्वी, मध्य र पश्चिमी सेक्टरहरूमा विवाद कायम रहेको बताएको छ ।

उता पूर्वी चीन सागरमा चीनले जापानसँग पनि भूमिमाथिको आधिपत्यका विषयमा विवाद गरिरहेको छ । त्यहाँको मानवरहित टापुसमूहलाई जापानले सेन्काकु भन्ने गरेको छ भने चीनले दिआयू नाम दिएको छ ।


Advertisement

केही दिनअघि अमेरिकी सेनाको अड्डा रहेको जापानको ओकिनावा शहरको नगर परिषद्ले सेन्काकु जापानी भूमि भएको भनी विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको छ । उसका गश्ती डुंगाहरू अन्तर्राष्ट्रिय सीमा पार गरेर आफ्नो जलक्षेत्रमा आउने गरिरहेको भनी जापानले आरोप लगाएको छ ।

पूर्वी चीन सागरमै रहेको ताइवानलाई त चीनले आफ्नो भगौडा प्रान्त मानेर त्यसलाई मुख्यभूमिको शासनअन्तर्गत ल्याउने भनिरहेकै छ । ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले त्यसो हुन नदिने भनी अडान लिएपछि चीनका लडाकू जहाजहरू ताइवानको आकाशमा आक्रामक गश्ती गरिरहेका छन् ।

अनि दक्षिण चीन सागरमा चीनले विभिन्न जलक्षेत्रमा आफ्नो आधिपत्य रहेको भन्दै तथा कृत्रिम टापुहरू समेत बनाउँदै गर्दा फिलिपिन्स, भियतनाम लगायतका छिमेकीहरू चिढिएका छन् । चीनलाई रोक्नका लागि अमेरिकाले आफ्ना युद्धपोत तथा विमानवाहक लडाकू पानीजहाजहरू दक्षिण चीन सागरमा तैनाथ गरेको छ ।

हुँदाहुँदा चीनले रुसको आधिपत्य रहेको भ्लादिभोस्तोक शहर पनि आफ्नै भएको भनिरहेको छ । आधिकारिक रूपमा केही नभने पनि चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्लादिभोस्तोक चीनकै भूभाग भएको र सन् १८६० मा रुसले नियन्त्रण गर्नुअघि त्यसको नाम हाइशेनवेई भएको बताइरहेका छन् ।

यसरी चीनले आफ्ना छिमेकका विभिन्न ठाउँलाई आफ्नो भनी दाबी गरिरहनुमा उसको ऐतिहासिक स्मृति जोडिएको छ । चीनमा चिङ राजवंशको शासन चलेको बेलामा चिनियाँ भूभाग अहिले दाबी गरिएका क्षेत्रहरूसम्म फैलिएको थियो ।

तर म्याथ्यु डब्ल्यू मोस्काको पुस्तक 'फ्रम फ्रन्टियर पोलिसी टु फरेन पोलिसी: द क्वेस्चन अफ इन्डिया यान्ड द ट्रान्सफर्मेसन अफ जियोपोलिटिक्स इन चिङ चाइना' का अनुसार, बेलायती साम्राज्यको शक्तिलाई राम्रोसँग आकलन गर्न नसकेको चीनले दुईवटा अफिम युद्ध (पहिलो सन् १८३९ देखि १८४२ अनि दोस्रो सन् १८५६ देखि १८६०) बेहोर्नुपर्‍यो र त्यसले चिङ साम्राज्यको रोबदोब तथा विशाल भूभाग खुम्च्याइदियो ।

चीन एकदमै कमजोर बनेको फाइदा उठाउँदै पश्चिमी शक्तिहरूले अनि जापानले समेत उसका विभिन्न भूभाग अतिक्रमण गरेर कब्जामा लिएका हुन् । बेलायतले हङकङ पनि त्यही बेलामा भाडामा हात पारेको थियो ।

अफिम युद्धको आरम्भ सन् १८३९ देखि जनगणतन्त्र चीन बनेको सन् १९४९ सम्मको ११० वर्षलाई चिनियाँहरू बेइज्जतीको शताब्दी (सेन्चुरी अफ ह्युमिलिएसन) मान्छन् । त्यस शताब्दीमा चीनले असमान सन्धि, बक्सर विद्रोह, जापानको २१ माग तथा मन्चुरिया कब्जा लगायतका अनेकौं बेइज्जतीपूर्ण घटनाको सामना गर्नुपरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीले जनतामा राष्ट्रवादको भावना जगाउनका लागि निरन्तर सेन्चुरी अफ ह्युमिलिएसन शब्दावली प्रयोग गर्ने गरेको छ । चीनले भोगेको बेइज्जतीको इतिहास कहिले पनि दोहोरिन नदिने गरी मुलुकलाई बलियो तथा एकजुट बनाइराख्नुपर्ने अनि पुरानो बेइज्जतीको बदला लिनका लागि प्रयास गर्नुपर्ने भनी चिनियाँ नेताहरूले जोड दिने गरेका छन् ।

बेइज्जतीको बदला लिन पहिला चीन बलियो बन्न जरूरी हुन्थ्यो । चीनलाई बलियो बनाउने रणनीति अन्तर्गत माओ त्से तुङले सोभियत रुसलाई एक्ल्याउन अमेरिकासँग हात मिलाएर विश्व अर्थतन्त्रमा चीनलाई जोड्ने बाटोमा अघि बढेका हुन् ।

माओको देहान्तपछि देङ श्याओपिङले सुधार तथा खुलापनको नीति अपनाउँदै अमेरिका तथा पश्चिमको सहायता लिएर राज्यनियन्त्रित पूँजीवादलाई अघि बढाए । त्यतिखेर उनले ‘आफ्नो शक्ति लुकाऊ, समयलाई कुर’ भन्ने रणनीति अपनाएका थिए । यसको अर्थ हुन्थ्यो, बेस्सरी खटिएर देशविकास गर, अर्काको मामिलामा हस्तक्षेप नगर, पछि शक्ति प्रदर्शन गर्ने बेला आइहाल्छ ।

देङको नीति सफल भएर चीन आर्थिकरूपमा सम्पन्न भएपछि अहिले राष्ट्रपति सी चिनफिङले चीनको शक्तिप्रदर्शनमा जोड दिन थालेका छन् । राष्ट्रपति बनेलगत्तै उनले चिनियाँ सपनाको कुरा झिके ।

चिनियाँ सपना भन्नाले गुमेको राष्ट्रिय महानतालाई फर्काउनु हो भनी परिभाषित गरिएको छ । त्यसका लागि संस्थागत क्षमतामा वृद्धि, व्यवस्थित शहरीकरण, राजनीतिक सुधार, सामाजिक स्थिरता लगायका सुशासनका पाटाहरू पर्छन् । तर त्यससँगै गुमेको भूभागलाई पुनः आफ्नो आधिपत्यमा ल्याउने काम पनि पर्छ भलै चिनियाँहरूले त्यसलाई यति स्पष्ट रूपमा व्यक्त गर्दैनन् ।

यसरी हेर्दा चीनले चिङ साम्राज्यले गुमाएको भूभागलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको देखिन्छ । त्यसका लागि ऊ अब युद्धमा जाला त ?

त्यसो त चीनलाई अलिक ठूलै एउटा युद्ध गर्नैपर्ने भएको देखिँदैछ । जनगणतन्त्र चीनले अहिलेसम्म 'फुल स्केल वार' गरेको छैन । सन् १९६२ मा भारतसँगको युद्ध जम्मा एक महिना चल्यो अनि सन् १९७९ मा भियतनामसँगको युद्ध पनि जम्मा तीन हप्तामा टुंगियो ।

त्यसअघि सन् १९५६ देखि १९६६ सम्म सोभियत रुससँग तनावको स्थिति रहँदा १५ लाख चिनियाँ सैनिकहरू सीमामा खटिएका थिए तर युद्ध भएन । संसारको सबभन्दा ठूलो सेना (२० लाख ३५ हजार सक्रिय सैनिक) तथा अत्याधुनिक हातहितयारलाई चीनले राम्ररी परीक्षण गर्नै पाएको छैन र त्यसका लागि ठूलो युद्ध आवश्यक छ ।

त्यसो त चीनलाई आफ्नो राष्ट्र एकजुट राख्न पनि युद्ध आवश्यक परेको छ । चीनको इतिहास हेर्ने हो भने उसले विभिन्न चरणमा अद्भुत प्रगति गरेर उचाइ छुने अनि बाहिरी शक्तिको आँखा लागेर गर्ल्यामगुर्लुम ढल्ने गरेको देखिन्छ ।

सेन्चुरी अफ ह्युमिलिएसन अघिको स्थिति हेर्दा नै पनि प्रगतिको उपल्लो सीमा छोएको चीनलाई पश्चिमा शक्तिहरूले जबर्जस्ती अफिम किन्न बाध्य बनाउने गरी युद्ध गरेर कमजोर बनाएका हुन् । पश्चिमाहरूको आँखा नपरुन्जेलसम्म चीनमा सुनौलो युग रहेको मानिएको थियो ।

अहिले पनि चीन समृद्धिको उचाइ छोइरहेको छ र अमेरिकालाई पछि पार्दै विश्वको पहिलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ । सारा संसारको आँखा अहिले चीनमा केन्द्रित छ । त्यसैले आफू सैन्य रूपमा बलियो छु र आफूतर्फ कसैले कुदृष्टि नलगाओस् भन्नका लागि पनि चीनलाई ठूलो युद्ध गरेर सफलता पाउनुपरेको छ । तर युद्धको परिणाम चीनकै पक्षमा रहन्छ भन्ने ठोकुवा गर्न सकिँदैन ।

चीनले पुरानो गौरव फर्काउनका लागि प्रयास गरिरहेको सन्दर्भमा छिमेकीको नाताले नेपालमा कस्तो असर पर्छ भन्ने विषय पनि हेर्नु जरूरी छ । तिब्बतसँग नेपालले सन् १७८८ देखि १७९२ सम्म गरेको युद्धमा नेपाल पराजित भएपछि बेत्रावती सन्धि बमोजिम चिङ सम्राटलाई सौगात बुझाउनुपर्ने भएको थियो । उक्त युद्धमा नेपालले आफ्नो भूभाग गुमाउनुपरेको थिएन ।

पछि नेपालले तिब्बत आक्रमण गरेर विजय हासिल गरी थापाथली सन्धि गर्दा पनि तिब्बत र नेपाल दुवैले चिनियाँ सम्राटलाई सम्प्रभु मान्नुपर्ने प्रावधान राखिएको थियो । चीनले नेपालको सार्वभौमसत्तालाई सम्मान गरे पनि चिङ सम्राटले नेपाललाई करदाता (ट्राइब्युटेरी) को हैसियतमा मात्र हेर्ने गरेका थिए ।

जनगणतन्त्र चीन बनेपछि सन् १९६० मा नेपाल र चीनबीच भएको शान्ति तथा मैत्री सन्धिको पहिलो धारामा एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने प्रावधान छ । तर जर्ज प्याटरसनको पुस्तक 'गड्स फूल्स'मा उल्लेख भएअनुसार, माओले तिब्बतलाई दाहिने हात मान्दै लद्दाख, नेपाल, सिक्किम, भुटान र अरुणाचल प्रदेशलाई पाँच औंला भनेकाले नेपाललाई चीनले आफ्नो प्रभुत्वक्षेत्र मान्छ भन्ने स्पष्ट छ ।

चिङ राजवंशकालीन चीनसँग नेपालले गरेको युद्धमा कुनै भूभाग नगुमाउनुपरेकाले विगत सम्झिरहेको चीनबाट नेपालले भौगोलिक अखण्डतामाथि प्रहार होला भनी कल्पना गर्नु नपर्ला । तर चीनले नेपाललाई आफूअनुकूल बनाइराख्नका लागि विभिन्न प्रयास गरिरहने सम्भावनालाई चाहिँ नकार्न नसकिने स्थिति छ ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्