१६ असार २०८३, मंगलबार

संसदीय समितिमा निर्विरोध नेतृत्व चयन

असार २८, २०७७
संसदीय समितिमा निर्विरोध नेतृत्व चयन
फाइल फोटो।

कर्णाली प्रदेशसभाअन्तर्गतका संसदीय समितिमा निर्विरोध नेतृत्व चयन भएको छ। चार वटा समितिको अध्यक्ष पदका लागि भएको मनोनयनमा एक÷एक जनाले मात्र उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको हो। 

प्रदेशसभा सचिवालयका अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिमा दिनबन्धु श्रेष्ठको मात्र मनोनयन दर्ता भएको छ। सार्वजनिक लेखाबाहेक अन्य तीन समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेतृत्व लिएको छ।

प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले मतदानको मिति आज तोकिए पनि एकल उम्मेदवारी परेपछि चारवटै समितिका अध्यक्ष निर्विरोध चयन भएका बताए। प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची ५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा शपथ ग्रहणपश्चात अध्यक्षले कार्यभार सम्हाल्नेछन्। 

समिति गठन भएको २७ महिनापछि नेतृत्व चयन गरिएको हो । यसअघि प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गर्दै आएका थिए। नेकपा कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन। ‘मिनी संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्