
सरकारी स्वामित्वमा रहेको नुवाकोटको पर्यटकीय स्थल ककनीमा रहेको सार्वजनिक जग्गा उपभोगका लागि लगानी मोडल तयार गर्न कार्यदल गठन भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक जग्गाको एकीकृत गुरुयोजना बनाई सुविधा सम्पन्न होटल, सम्मेलन केन्द्र, पर्वतारोहण प्रशिक्षण केन्द्र, स्की खेलका पूर्वाधार, मनोरञ्जन पार्क, क्यासिनो लगायतका विभिन्न कृयाकलाप सञ्चालन गर्न मिल्ने गरी लगानी मोडल समेत तयार गर्न आइतबार कार्यदल बनाएको हो।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित कार्यदलमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद नेउपाने सदस्य छन्।
कार्यदललाई नेपाल स्काउट, नेपालस्थित बेलायती दूतावास, नेपाल पर्वतारोहण प्रतिष्ठान, नेपाल पर्वतारोहण संघ, स्थानीय जनप्रतिनिधिसहित अन्य सरोकारवाला निकायसँग छलफल गरी १५ दिनभित्र अवधारणा पत्र पेश गर्न कार्यादेश दिइएको छ।
उक्त जग्गा हाल पर्यटन विभाग, तारागाउँ विकास समिति, नेपाल पर्वतारोहण संघ, नेपाल स्काउट र अन्य निकायहरुले प्रयोग गर्दै आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार मात्र ककनीको अवलोकन गरेका थिए।