
हामीहरू जिम जानका लागि बिहानै उठ्छौं अनि अफिसको इमेलको जवाफ फर्काउनका लागि रात ढिलोसम्म बस्छौं ।
अनि कहिलेकाहीँ सुत्ने बेलामा हामी ओछ्यानमा पल्टिएर नेटफ्लिक्स हेर्छौं ।
कारण जे होस्, हामी प्रायः सुत्ने समयमा कटौती गर्छौं । तर स्वास्थ्य कायम गर्नका लागि तपाईंले सुत्नका लागि अलिक बढी समय छुट्ट्याउनुपर्छ ।
निद्राका लागि तपाईं एक घन्टा मात्र बढी समय छुट्ट्याउनुहुन्छ भने ताजा देखिनुहुन्छ, थप राम्रो अनुभव गर्नुहुन्छ र आफ्नो काम राम्रो गरी गर्न सक्नुहुन्छ ।
विशेषज्ञहरूका अनुसार, एक अतिरिक्त घण्टा शुरूआत मात्र हो । निद्राको वास्तविक फाइदा पाउनका लागि सुत्ने तालिका बनाउनुस् र त्यसमा कायम रहनुस् ।
भरपूर निद्राका अनेकौं फाइदा छन् । अमेरिकामा जोन हप्किन्स विश्वविद्यालयकी एसोसिएटेड प्रोफेसर रेचल सलास निद्रारोग विशेषज्ञ हुन् ।
उनी भन्छिन्, ‘भरपूर निद्रापछि तपाईं गजब अनुभव गर्नुहुन्छ, तपाईंलाई थप ऊर्जा प्राप्त हुन्छ, राम्रा विचारहरू आउँछन् अनि आफ्नो टीम र संगठनमा थप राम्रो योगदान गर्न सक्नुहुन्छ ।’
निद्राले शरीरमा पनि राम्रो असर पर्छ । निद्रामा कटौती गर्दा तपाईंको तौल बढ्न सक्छ । आँखामुनि चाउरी पर्छ र तपाईं थाकेको जस्तो देखिनुहुन्छ ।
सन् २०१३ मा बीबीसीले सरे विश्वविद्यालयको स्लीप रिसर्च सेन्टर फर एक्सपेरिमेन्टसँग मिलेर एक अध्ययन गरेको थियो ।
एक अतिरिक्त घण्टाको निद्राले कम्प्युटर टेस्टमा भाग लिएका मानिसको मानसिक दक्षता बढेको थियो ।
अनेकौं अध्ययनबाट प्रस्ट हुन्छ, जम्मा एक घन्टा बढी सुतेर मात्र पुग्दैन । निद्रा महत्त्वपूर्ण छ । सुविधाको हिसाबले यसमा कटौती गर्नु ठीक हुँदैन ।
गत महिना अमेरिकामा भएको अध्ययनले पनि राति पूरा आठ घण्टा सुत्ने विद्यार्थीले परीक्षामा थप राम्रो प्रदर्शन गरे ।
पहिलेभन्दा बढी निद्रा लिएपनि तपाईं सुस्त अनुभव गर्नुहुन्छ भने यो स्वास्थ्य समस्याको संकेत हो ।
त्यसो भए पनि निद्राको समय बढाउनु स्वास्थ्यका लागि राम्रो फैसला हो । सलास भन्छिन्, ‘यो उपचार र औषधिको सबै सीमाभन्दा पर छ ।’
तपाईंको शरीरलाई कति निद्रा चाहिन्छ भन्ने कुरा निश्चित गर्नु र त्यसमा कायम रहनु स्वास्थ्यमा राम्रो लगानी हो । निद्रै मारेर काम सक्नु ठीकै होला तर बाँच्नु त्यसभन्दा झन् राम्रो कुरा हो ।
सलास भन्छिन्, ‘निद्राको कमीका कारण मानिसहरू दुर्घटनाको शिकार भइरहेका छन् । कुनै ब्रेन सर्जन राम्रो निद्राबाट वञ्चित भयो भने के होला ? यो जीवन र मृत्युबीचको अन्तर हो ।’