
अमेरिकाको कोलोराडोमा वन्यजन्तु अधिकारीहरूले शनिवार बिहान एक भालुलाई मारेका छन् । उसले एक स्थानीय महिलामाथि आक्रमण गरेको अनि अर्कोलाई लखेटेको विश्वास गरिएको छ ।
कोलोराडो निकुञ्ज तथा वन्यजन्तु अधिकारीहरूले भालुलाई मानितोउ स्प्रिङ्स नजिक फेला पारेको बताए । त्यो डेनभरबाट ८० माइल दक्षिणतिर पर्छ ।
‘यो भालुले मानितोउ स्प्रिङ्समा बिहीवार बेलुका एक महिलामाथि आक्रमण गरेको अनि अर्कीलाई लखेटेको थियो,’ कोलोराडो स्प्रिङ्स क्षेत्रमा वन्यजत्नु व्यवस्थापक कोडी विंगरले बताए ।

अधिकारीहरूले तालिमप्राप्त कुकुर उपयोग गरेर भालुलाई समातेको केडीभीआर–टीभीले खबर दियो ।
उसलाई मानवीय तवरले नदुख्ने गरी मारिएको उनीहरूको भनाइ छ ।
भालुका दुई बच्चालाई पुनःस्थापना केन्द्रमा लगिने र मानव सम्पर्कमा नआउन तालिम दिइने भएको छ ।
बच्चाहरूलाई अर्को वर्षको जाडो महिनामा जंगलमा छोडिने बताइएको छ ।