
पोल्यान्डमा भएको निर्वाचनमा बहालवाला राष्ट्रपति आन्द्रेज डुडा विजयी भएका छन् । सोमवार प्रकाशित परिणाममा डुडाले ५१.२ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
दक्षिणपन्थी डुडाका प्रतिद्वन्द्वी उदारवादी राफाल त्रजासकोव्स्कीले ४८.८ प्रतिशत मत ल्याए ।
अन्तिम परिणाम छिट्टै घोषणा हुने निर्वाचन आयोगले बताए पनि डुडा पराजित हुने कुुनै सम्भावना छैन किनकि उनी लगभग पाँच लाख भोटले अघि छन् । तर मतान्तर झिनो भएकाले निर्वाचनमा गडबडी गरिएको भनी विपक्षीले आरोप लगाउने सम्भावना छ ।
निर्वाचनमा दुवै पक्षले देशको भविष्यका लागि लडिरहेको बताएका थिए । डुडाले सत्तारूढ लोकरञ्जनवादी दलको एजेन्डालाई अघि बढाउने बताइरहँदा त्रजासकोव्स्कीले नयाँ पोल्यान्डको भिजन अघि सारेका थिए ।
डुडाले पारिवारिक मूल्यमान्यताको पक्षमा आवाज राखेका थिए अनि समलिंगीविरोधी भाषा प्रयोग गरेका थिए ।
डुडाको जीतसँगै पोल्यान्ड र युरोपेली संघबीचको टकराव झनै बढेर जाने अपेक्षा गरिएको छ ।