
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अयोध्याबारे दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयबाट स्पष्टिकरण आएकाे छ।
प्रम ओलीको अभिव्यक्तिको अर्काे आलोचना भइरहेका बेला परराष्ट्रले सोमबार विज्ञप्ति जारी गरी भनेको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन। कसैको भावनामा चोट पुर्याउने आशय पनि थिएन।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन। श्रीरामका विषयमा विभिन्न कथन रहेको हुँदा प्रधानमन्त्रीले त्यसबारे एवं रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलसँग जोडिने तथ्यहरूबारे थप अध्ययन अनुसन्धानको खाँचोमाथि जोड दिनुभएको हो।’
प्रम ओलीले सोमबार भानुजयन्तिको अवसरमा भारतले नक्कली अयोध्या खडा गरेको र अयोध्या नेपालमै भएको’ अभिव्यक्ति दिएका थिए।
परराष्ट्र मन्त्रालयले भने प्रम ओलीको टिप्पणी अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको बताएको हाे।
नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ मे महिनामा रामायण सर्किटको उद्घाटन गरेको विषयलाई पनि परराष्ट्रले स्मरण गराएको छ। सर्किट अनुसार जनकपुर-अयोध्या यात्रु बस सेवा सञ्चालित छ।
