
चीनले दक्षिण चीन सागरको विवादास्पद क्षेत्रमा युद्धाभ्यास गरेपछि अमेरिकी जलसेनाले विमानवाहक दुईवटा युद्धपोत उक्त क्षेत्रमा पठाएको छ । यससँगै दुई महाशक्तिबीचको तनाव सामरिक तहमा पुगेको छ ।
अमेरिकी र चिनियाँ युद्धपोतहरू एकअर्काको कति नजिक पुगे भन्ने स्पष्ट छैन ।
पछिल्लो घटनाले अमेरिका र चीनबीचको सम्बन्ध चिसिएर शीतयुद्धको नयाँ संस्करणमा पुगेको विज्ञहरूले बताइरहेका छन् ।
अनि मंगलवार भएको अर्को घटनाले यस युद्धमा थप बल पुर्याएको छ । बेलायत सरकारले चिनियाँ प्राविधिक कम्पनी हुआवेलाई देशको ५जी नेटवर्कबाट प्रतिबन्धित गर्ने घोषणा गरेको छ ।
अनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई हङकङका विषयमा दण्डित गर्नका लागि एक कानून र एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
मंगलवार नै अमेरिकी जलसेनाले विवादित स्प्य्राट्ली टापुसमूहमा फ्रीडम अफ नेभिगेसन कारवाही चलाउँदै चीनले दाबी गरेको जलक्षेत्रमा क्षेप्यास्त्र विनाशक प्रक्षेपण गरेको छ ।
सोमवार अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले दक्षिण चीन सागरमा रहेका विवादित क्षेत्रमा चीनले गरेको दाबी अवैध भएको र बेइजिङले उक्त क्षेत्रका देशलाई सताउने व्यवहार गरिरहेको आरोप लगाएपछि अमेरिकी जलसेनाले उक्त कारवाही गरेको हो ।
सोमवारै चीनले अमेरिकाका केही सांसद र अन्य अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । सिनजियाङ प्रान्तमा रहेका मुसलमान उइगुर अल्पसंख्यकहरूलाई सामूहिक हिरासतमा राखेको, धार्मिक आधारमा दुःख दिएको र जबर्जस्ती बन्ध्याकरण गरेको भनी त्यसमा जिम्मेवार चिनियाँ अधिकारीविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको जवाफमा चीनले यो कदम चालेको हो ।
अनि गत साता अमेरिकाको एफबीआईका निर्देशक क्रिस्टोफर रेले चिनियाँ गुप्तचर संयन्त्र देशको सूचना तथा बौद्धिक सम्पत्तिका र आर्थिक जीवन्तताका लागि सबभन्दा ठूलो जोखिमका रूपमा रहेको बताए ।
दुई देशबीच महिनौंसम्म कोरोनाभाइरसको उत्पत्तिका विषयमा गरिएका दन्तबझानपछि यी कारवाहीहरू देखिएका हुन् ।
दशकौंसम्म अमेरिकी परराष्ट्रनीतिको बुझाइ के रह्यो भने पश्चिमले चीनसँग व्यापार गर्ने र आदानप्रदान गर्दै जाँदा चीनको राजनीतिक प्रणाली क्रमशः खुल्दै जानेछ र उसको जोधाहा व्यवहारमा पनि परिवर्तन आउनेछ । तर हालैका वर्षमा चीनका राष्ट्रपति सी चिनफिङले अझै कठोर नीति अपनाउन थालेपछि अमेरिकी धारणामा परिवर्तन आउन थालेको छ ।
अहिले ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडन दुवै चीनप्रति बढी कडा देखिनका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
अनि चीनमा पनि अमेरिकाप्रतिको नकारात्मक धारणा बढ्दो छ ।
चीनका परराष्ट्रमन्त्री वाङ यीले अघिल्लो साता बेइजिङको एक थिंकट्यांकमा बोल्दै अमेरिका र चीनबीचको दौत्य सम्बन्ध स्थापना भएको समयदेखि अहिलेसम्मकै सबभन्दा कडा चुनौती आइलागेको बताए ।
अमेरिकाको चीन नीति झूटो सूचनासहितको गलत रणनीतिक आकलनमा आधारित र भावुकताले भरिएको अनि कम्युनिस्टविरोधी अतिवादी सोचले प्रेरित रहेको उनको भनाइ छ ।
यति हुँदाहुँदै पनि यसलाई शीतयुद्ध भनिहाल्न मिल्दैन भन्ने विज्ञहरू पनि छन् किनकि दोस्रो विश्वयुद्धपछि अमेरिकाको नेतृत्वमा रहेको पश्चिम र सोभियत संघको नेतृत्वमा रहेको पूर्वले राजनीतिक र आर्थिक प्रणालीकै विषयमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसको विपरीत चीनको अर्थतन्त्र कारोबार तथा लगानीको माध्यमले अमेरिका र पश्चिम युरोपसँग गहिरो गरी जेलिएको छ । चिनियाँ पर्यटकहरू संसारभरि घुम्छन् अनि दशौं हजार चिनियाँ विद्यार्थीहरू प्रत्येक वर्ष अमेरिकी र युरोपेली विश्वविद्यालयमा पढ्न जान्छन् ।
तर दुई दशकसम्म चीनलाई विकसित देशहरूको नियम अपनाउनका लागि फकाएको भए पनि त्यसमा सफल नभइएको अमेरिकीहरूले स्वीकार गरेका छन् ।
अमेरिकामा रहेका चिनियाँ गुप्तचरहरूमाथिको कारवाही जारी रहने विज्ञहरू बताउँछन् । अनि पश्चिमले अन्तर्राष्ट्रिय रूपमा चीनले गर्ने दुर्व्यवहारका विषयमा चीनलाई आर्थिक दण्ड दिने उपायहरू अपनाउन थालेको छ ।
चिनियाँहरू प्रशान्त महासागरको पश्चिमी भागमा अमेरिकालाई शक्तिप्रदर्शन गर्न नदिनका लागि क्षेप्यास्त्र तथा अन्य प्रणालीहरू बनाइरहने छन् भने अमेरिकाले चिनियाँ हतियारलाई प्रतिकार गर्ने प्रविधि पनि बनाइरहनेछ ।
अनि प्रविधिको क्षेत्रमा पनि चीनभन्दा आफू पछि नपरियोस् भनी अमेरिकीहरूले कृत्रिम बौद्धिकता तथा क्वान्टम कम्प्युटिङका क्षेत्रमा सरकारी खर्च बढाउन जोड दिइरहेका छन् ।
एनबीसी न्युजमा प्रकाशित केन डिलानियनको रिपोर्ट