
नेपाल र भारतबीच तनाव घट्नुको साटो बढिरहेको छ, तर दुई देशका नागरिकबीचको सम्बन्धमा त्यसले त्यति ठूलो प्रभाव पार्न सकेको छैन ।
नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ, भनिन्छ । भन्नुको मतलब दुई देशमा बिहेबारी चल्छ । सीमावारिपारि पारिवारिक सम्बन्धको जालो छ ।
रोटीबेटीकै सम्बन्धका खातिर कोरोना संकटका बीच पनि नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने झुलाघाट पुल १५ मिनेटका लागि खुल्यो ।
उताबाट जन्तिसहित बेहुला आए, विवाह सकेर १० मिनेटमै बेहुली लिएर भारततर्फ फर्किए ।
पुलको नेपालतर्फको बिन्दुमा पुगेर बेहुलीका बुवाआमाले आशिर्वादसहित छोरी बिदा गरेको खबर भारतीय अनलाइन न्यूज पोर्टल जागरणले छापेको छ ।
भारतको जीवी गाउँका कमलेश चन्द्र बेहुली लिन जन्तिसहित सीमास्थित भारततर्फको पुलसम्म गए । बुवालाई लिएर उनी नेपाल आइपुगे ।
बेहुली राधिकाका परिवार पुलको मुखकै आएर बसेका थिए । १० मिनेटमा टीकाटाला भयो र बेहुलाबेहुलीले फेरो लिए, अनि आशिर्वाद लिएर बिदा भइहाले ।
यो विवाह गत मार्चमा नै तय भएको थियो । तर, कोरोनाका कारण लकडाउन र सीमा सिल भएपछि टर्दै आयो ।
दुवै पक्षले प्रशासनसँग १५ मिनेटका लागि पुल खोल्न अनुमति लिए, अनि विवाह सम्पन्न भयो ।