
कोरोना महामारीका बीच नयाँ आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
सो नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड)ले बिहान बसेको बैठकबाट पारित गरेको छ ।
बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।
कोरोना महामारीबाट ग्रस्त अर्थतन्त्र उकास्नका लागि मौद्रिक नीति आउने छ ।
कोरोना महामारीका बीच गभर्नर महा प्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीतिमा ऋणीलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको छ ।
जसअनुसार बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।
यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।
यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म पुर्याउनेसम्मका योजना मौद्रीक नीतिमा उल्लेख गरिएको स्रोतले बताएको छ ।