
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।
शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले स्थायी कमिटी बैठक साउन ४ गते आइतवारसम्मका लागि स्थगित भएको जानकारी दिए ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको माग तथा राजीनामा नदिने ओलीको अडानका कारण नेकपामा सहमति जुट्न सकिरहेको छैन ।
अध्यक्षद्वयबीच सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक असार १८ गतेदेखि स्थगित हुँदै आएको छ ।
साउन १० गते शुरू स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाभित्रको विवाद बल्झिएको थियो ।
ओली र प्रचण्डबीच शुक्रवार पनि छलफल भएको थियो ।
यसअघि बुधवार संक्षिप्त भेट भएको थियो भने बिहीवार माधवकुमार नेपालसहित तीन नेताबीच लामो छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन ।