
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकीकरण, ध्रुवीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परीक्षा आउँदो स्थानीय निर्वाचनमा हुने बताएका छन्।
साझा पार्टीका सदस्यहरुलाई शुक्रबार एक सन्देश जारी गर्दै मिश्रले काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने प्रमुख उद्देश्य रहने बताएका हुन्।
उनले भनेका छन्, ‘एकीकरण र ध्रुवीकरणकाे बाटोमा नगइ त्यो विजय असम्भव प्रायः हुनेछ। स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर त्यसपछि आउने संघीय चुनावमा पर्नेछ।’
डा सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग भएपछि सिर्जित परिस्थितिका बीच मिश्रले यस्तो जवाफ दिएका हुन्।
उनले भनेका छन्, ‘केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ। त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो। त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो।’