मुलुकभित्र कोरोना संक्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता संक्रमण दर न्यून रहेको पाइएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका ९ जिल्लामा संक्रमण पुष्टि भएका ३२७ थिए । उक्त संख्यामा संक्रमित देखिँदा यहाँ ५२ जना कोरोना जितेर घर फर्किएका थिए ।
असार १५ आइपुग्दा यहाँ संक्रमितको संख्या ह्वात्तै बढेर २ हजार २६६ पुग्यो । त्यसको १० दिनपछिको तथ्यांक हेर्दा संक्रमितको संख्या बढेर ३ हजार ७५३ पुग्यो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकमा मात्रै कोरोना संक्रमण देखिएको बताए । ‘एकआध बाहेक यहाँ समुदायमा कोरोना फैलिन पाएन,’ निर्देशक डा. अवस्थीले भने, ‘कोरोनासितको लडाइँमा होमिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतमा यसको संक्रमण देखियो ।’
निर्देशनालयको तथ्यांक हेर्दा असार अन्तिममा यहाँ संक्रमतिको संख्या ३ हजार ८०१ पुग्दा निको हुनेको संख्या भने १ हजार ५८५ पुगेको थियो । सुदूरपश्चिममा शुरूआतदेखि नै सबैभन्दा बढी संक्रमण कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म कैलालीमा मात्रै ८९० जनामा कोरोना देखिएको कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले जानकारी दिए । कोभिड–१९ सुदूरपश्चिम प्रदेशका सम्र्पक व्यक्ति नरेन्द्र कार्कीले संक्रमणको दायरा साघुरिँदै गएको बताए । ‘असारमा संक्रमण बढेपनि साउनयता घट्दो गतिमा छ,’ उनले भने, ‘निको भएर फर्किने क्रम पनि बढेको छ ।’ बिहीवार ३ हजार ८८० देखिएकोमा शुक्रवार भने १ जना मात्र बढेको देखिएको छ । सुदूरपश्चिममा ३ हजार ८८१ जनामा संक्रमण देखिँदा १ हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् ।
यहाँ २९ हजार ७८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने १ हजार ५१० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोनाबाट यहाँ हालसम्म ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हरेकदिन जसो सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस संक्रमणको ग्राफ सहितको विवरण सार्वजनिक गर्छ । कोरोना संक्रमितको स्वास्थ्य उपचार, परीक्षण र संक्रमितहरूको ‘ट्राभल हिस्ट्री’ समेत संकलन गरेर रोकथाम तथा न्यूनीरकणमा लाग्नुपर्ने निकायले नै उमेर समूहका आधारमा संक्रमित देखाइएका वयोवृद्ध सम्र्पकमा छैनन् । निर्देशनालयको तथ्यांकमा ९० वर्षमाथि १ जना संक्रमित रहेको देखाएपनि ती संक्रमित भनिएका व्यक्ति न स्थानीय तहको सम्र्पकमा छन्, न त कुनै सरोकारवाला निकायको नै ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १८ गते सुदूरपश्चिममा ९६ जनामा कोरोना संक्रमण भेटियो । जसमा कैलालीको जानकी गाउँपालिकामा ९७ वर्षीय पुरुषसहित ६ जनामा संक्रमण देखिएको बताइए पनि संक्रमित वृद्धको परिचय भने खुलेको छैन । कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले भने, ‘प्रदेश निर्देशनालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वृद्ध जानकी गाउँपालिका भनेपनि त्यहाँ पनि छैन्न ।’
उमेर समूहका आधारमा देखाइएको पीसीआर पोजेटिभको संख्या ९० वर्षदेखि माथि १ जना रहेको ग्राफमा उल्लेख छ । कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरी ९७ वर्षीय पुरुष संक्रमित ग्राफमा देखाइएपनि पालिकामा नभएको बताए । यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने ती ९७ वर्षीय संक्रमितको कोरोना संक्रमण भएको पुष्टि सहितको रिपोर्ट गत असार १८ गते त्रिभुवन शिक्षण अस्पतालबाट आएको बताए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा देखिएका ७० वर्षमाथिका सबै वृद्धवद्धा भारतबाटै आएको दाबी गरे । ‘वृद्धवद्धा रोजगारीदेखि, छोरा छोरीसित भारतमा बस्दै आएको र कोरोनाका कारण घर फर्किदा संक्रमण देखिएको हो,’ निर्देशक डा. अवस्थीले भने, ‘सुदूरपश्चिममा १ जनाबाहेक अरुमा स्थानीय संक्रमण अझै देखिएको छैन ।’ – शेरबहादुर सिंह/रासस