
गत आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कर्णबहादुर चुनाराले बताए ।
ट्राफिक प्रमुख चुनाराका अनुसार सबैभन्दा धेरै ट्रयाक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार ५०० राजस्व संकलन भएको छ । ३ हजार ९६६ ट्रयाक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार ५००, १ हजार ८२४ जीप, कार, भ्यानबाट ११ लाख ६३ हजार ५००, १ हजार २७१ बसबाट ८ लाख ४० हजार र ९३१ ट्रकबाट ५ लाख ८८ हजार ५०० गरी ७ हजार ९९२ सवारीसाधन कारवाहीमा पर्दा राजस्व संकलन भएको हो ।
आव २०७५/७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ को बन्दाबन्दीका कारण राजस्व संकलनमा करीब २९ प्रतिशतले कमी भएको ट्राफिक प्रमुख चुनाराले बताए ।
गत आर्थिक वर्षमा स्याङ्जामा भएका १५ वटा सवारी दुर्घटनामा ४ पुरुष, ३ महिला र २ बालबालिका गरी ९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रुहरु पनि सचेत हुनु जरुरी छ,’ प्रमुख चुनाराले भने, ‘सबै पक्षले ट्राफिक नियम पालना गरेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण उपलब्धि हुनेछ ।’