३१ जेठ २०८३, आइतबार

नेपालमा कोरोना घट्दै, ३ हजार ३०० परीक्षणमा ५७ मात्रै संक्रमित

साउन ३, २०७७
नेपालमा कोरोना घट्दै, ३ हजार ३०० परीक्षणमा ५७ मात्रै संक्रमित
प्रतिकात्मक तस्वीर

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।

गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । बिहीवार १६७ र शुक्रवार १०१ जनामा कोरोना देखिएको थियो ।

चौबीस घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका २ र तेह्रथुमका २, कोशी अस्पताल विराटनगरमा इलामका १ र मोरङका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका १, नारायणी अस्पताल वीरगञ्जमा बाराका १ जनालाई कोरोना देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २, नुवाकोटका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका १, पर्वतका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ र पाल्पाका २, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका १, दैलेख पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका ४, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका १ र रुकुमपश्चिमका ३ जनामा कोरोना देखिएको छ ।
 
डडेल्धुरा अस्पतालमा डडेल्धुराका २, बझाङका २ र डोटीका ७, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका १ गरी शनिवार जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ छ । संक्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय संक्रमण रहने दुवैको जम्मा संख्या १७ हजार ५०२ पुगेको छ ।

विगत २४ घण्टामा २७ प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिले क्वारेन्टीनमा रहेका व्यक्तिको संख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका संक्रमित व्यक्तिको संख्या ५ हजार ८२५ छ । कोभिड–१९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १०३ रहेको छ । शनिवारसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । 

मन्त्रालयको २ वटा कल सेन्टरबाट ७६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको संख्या १ लाख ६० हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ताको संख्या ८७ हजार २८१ छ । जम्मा इन्ट्री गरिएको संख्या ६७ हजार ८४७ रहेकामा शनिवार ७० जनाले इन्ट्री गरेका छन् ।

रेडजोनमा परेकाको जम्मा संख्या ५२७ छ । शनिवार कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको संख्या ३० लाख ५१ हजार ५०० छ । भाइबर ग्रुपमा जोडिनेको संख्या ४ लाख ६ हजार ४२४ छ । 

salt training

कमेन्ट गर्नुहोस्