०४ असार २०८३, बिहीबार

हिजो दिनभर : श्रीमतीको हत्यामा जेल सजाय पाएका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त, काठमाडाैंमा युवतीमाथि एसिड प्रहार

हिजो दिनभर : श्रीमतीको हत्यामा जेल सजाय पाएका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त, काठमाडाैंमा युवतीमाथि एसिड प्रहार

श्रीमतीको हत्यामा जेल सजाय पाएका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त 

​सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला थुनामुक्त भएका छन् । 

श्रीमती गीता ढकालको हत्यामा जेल सजाय भोग्दै आएका पूर्वडीआईजी कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको सजाय घटाउने फैसला गरेको थियो ।

डिल्लीबजार कारागारमा रहेका कोइराला फैसलापछि छुटेको कारागारकी सहायक जेलर सीता अधिकारीले लोकान्तरलाई बताइन् ।

२०६८ साल माघ ८ गते श्रीमती गीता ढकालको हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई दोषी करार गर्दै काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

त्यो फैसलालाई २०७२ मंसिर २३ मा उच्च अदालत पाटनले सदर गरेको थियो ।

काठमाडाैंमा युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो।

उनी घरबाट डेरी जाँदै गर्दा एसिड प्रहार भएको थियो।

उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। ओखलढुंगा घर भइ काठमाडाैंकाे साेल्टीमाेड बस्ने एक युवकले एसिड प्रहार गरेर भागेकाे र प्रहरीले उनलाई राति नै पक्राउ गरिसकेको छ ।

गृहमन्त्री थापाकाे प्रतिप्रश्न- 'नागढुंगाबाट सिंहदरबार आउन तीन घण्टा किन लाग्छ?'

गृहमन्त्री रामबहादुर थापाले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उनले ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन समेत निर्देशन दिए। 
'सवारी आवागमनलाई नियमित गर्ने महत्वपूर्ण भूमिका ट्राफिक प्रहरीको हो, ट्राफिक व्यवस्थापन विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ,' गृहमन्त्री थापाले भने, 'यातायात अवरोध नहोस्, नियमित होस् भन्नेतर्फ ध्यान जाओस्।'

मन्त्री थापाले प्रतिप्रश्न गर्दै भने, 'नागढुंगाबाट सिंहदरबार आउन तीन घण्टा लाग्ने हो भने जनताले कसरी सेवा पाउने र उद्योगीले आफ्नो व्यवसाय कसरी अगाडि बढाउन सक्छ?' 

यातायात राम्ररी चलेन भने विकास र सेवासमेत अवरुद्ध हुने उल्लेख गर्दै उनले हिजोको तुलनामा आवागमन केही प्रभावकारी भए पनि अझै नपुग रहेको बताए।

विकास भनेकै डोजर नीति भयो, डोजर चालक इञ्जिनीयर भए- गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालमा विकास नीति भनेकै डोजर नीति भएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बिहीबारको बैठकमा मन्त्री थापाले भने, ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ।’

अब  विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।

भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराेको जोखिम क्षेत्रमा बस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको मन्त्री थापाले बताए।

मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तरराष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए।
 

एकै पोखरीमा डुबे तीन बालक, सिंगो गाउँ शोकमा

झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
    
बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताए । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताए । “भतिजसहित अन्य दुई बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरवाहीको कारण भएको हो”, उनले भने, “निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।”

तीन बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताए । उनले भने, “निर्माण कम्पनीको लापरवाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानूनी उपचारमा जान्छौँ ।”

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो ।

निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले रु चार करोड ३८ लाख तीन हजार ५७९ मा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । सन्तोष शर्मा/रासस

पछिल्लो २४ घण्टामा देखियो १ सय ४७ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४७ मा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा थप १ सय ४७ जनामा नयाँ संक्रमण भएको बताए ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १८ हजार  पुगेको छ ।

नेपालमा कोरोनाका एक्टिभ केस हाल ५ हजार ३ सय ५८ रहेको छ । 

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ परीक्षण भएको थियो । पछिल्लो २४ घन्टामा १ सय ५६ संक्रमित निको भएर घर फर्केका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० रहेको छ ।

कोरोनाका कारण थप एकको मृत्यु, हालसम्म ४३ ले गुमाए ज्यान

कोरोनाका वीरगंज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा उनको कोरोनाका कारण निधन भएको जानकारी दिएका हुन् ।

कोरोनाका कारण मृत्यु हुने ७० वर्षीय पुरुष वीरगंज माइस्थानका हुन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्ताई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनको बुधवार मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ४३ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्