अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गरेपछि रिसाएको चीनले प्रतिशोधस्वरूप सिचुआन प्रान्तमा रहेको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।
छङ्दुमा अमेरिकी वाणिज्य दूतावासले चीनमा अनेकौं प्रान्तको काम हेर्ने गर्छ । स्वायत्त तिब्बत पनि सिचुआन नजिकै छ । तिब्बतका सम्बन्धमा अमेरिकी कदमलाई मध्यनजर गर्दै चीनले यो कदम चालेको हो ।
दुई आर्थिक महाशक्तिबीचको तनाव बढिरहेको बेलामा यो कदम चालिएको हो ।
आउँदो नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्प चीनविरुद्ध कडा देखिनका लागि हरसम्भव प्रयास गरिरहेका छन् ।
चीनमा अमेरिकाका ६ वटा वाणिज्य दूतावास छन् । तीमध्ये एकलाई बन्द गर्दा तनाव झनै चर्किने लक्षण देखिएको छ ।
दुई देशबीच व्यापार, मानवअधिकार, हङकङ र दक्षिण चीन सागरमा चीनको दाबीका कारण अमेरिका उससँग रिसाएको छ ।
अमेरिकाले चिनियाँ अधिकारी, विद्यार्थी र अनुसन्धाताहरूका विरुद्ध कडा कदम चाल्दै यात्रा प्रतिबन्ध र अनिवार्य नाम दर्ता लगायतमा जोड दिइरहेको छ । अमेरिकामा चिनियाँ नागरिकको संख्या घटाउन खोजिएको छ ।