१० असार २०८३, बुधबार

दाहाल–नेपालले पोखे उकुसमुकुस

साउन १०, २०७७
दाहाल–नेपालले पोखे उकुसमुकुस

झन्डै डेढ महिनादेखि पार्टीभित्रको आन्तरिक विवादमा रुमल्लिएपछि स्थायी कमिटीको बैठक रोकेर केही दिन विश्राममा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार आफ्नो मनभित्रका उकुसमुकुस सार्वजनिक मञ्चमार्फत पोखेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रित गरी पार्टीका आन्तरिक बैठकमा गर्ने टिप्पणी उनीहरूले शुक्रबार सार्वजनिक मञ्चबाटै गरे ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले पार्टी फुटाउने उद्देश्यले नै नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको कुरा मात्र उठाएनन्, नक्सा छाप्ने निर्णयमा पार्टीको हात रहेको भन्दै ओलीको देवत्वकरण गरिएकामा असन्तुष्टिसमेत जनाए ।

दाहाल मात्र होइन, वरिष्ठ नेता माधव नेपालले पनि पार्टीभित्र विधि, पद्धतिभन्दा व्यक्तिवादी शैली हावी भएको र ‘म नै राज्य हुँ’ जस्तो प्रवृत्ति हुर्किएको धारणा राखे । दुवै नेताले कम्युनिस्ट आन्दोलनको चिन्ता गर्दै अहिले पार्टीभित्र हुर्केका प्रवृत्तिको समीक्षात्मक टिप्पणी गरेका थिए ।

अध्यक्ष दाहालले नेपालको मिचिएको भूमि समेटेर नक्सा जारी गर्ने काम पार्टीका कारण सम्भव भएको बताए । ‘नक्सा जारी गर्नू भनेर निर्णय गर्ने पार्टी राष्ट्रघाती र दलाल हुने तर नक्सा जारी गर्न ढिलो गर्ने सरकारको चाहिँ देवत्वकरण हुने ?’ नक्सा जारी गरेकामा प्रधानमन्त्री ओलीको प्रशंसा भइरहेको तर्फ असन्तुष्टि जनाउँदै उनले भने । उनले आफूले अध्यक्षता गरेको पार्टीको स्थायी कमिटीले पुसमै नक्सा छाप्ने निर्णय गरे पनि सरकारले त्यसबेला ‘नक्सा किन, भूमि नै ल्याउँछौं’ भनेर ढिलो गरेको बताए ।

‘नीति तथा कार्यक्रम आउने दिन बिहान बसेको सचिवालय बैठकले नक्सा जारी गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेपछि त्यसमा प्रधानमन्त्रीजी सहमत हुनुभएको हो र त्यहींबाट मुख्यसचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा यो थपिएको हो,’ उनले भने, ‘त्यसरी नीति तथा कार्यक्रममा यो कुरा आयो । नक्सा जारी भयो र यसले पूरै देशलाई राष्ट्रिय एकताको भावनामा जोड्यो । तर पार्टीको सामूहिक विवेकले गरेको निर्णयको जस एकै जनाको मात्रै खल्तीमा हाल्ने हो भने त्यो इमानदारी ठहर्दैन ।’

उनले नेकपा संकटमा रहेको बताए । ‘पार्टी संकटमा छ । छैन भनियो भने त्यो गलत हुनेछ । अहिले बैठक चलिरहेको छ । मैले सार्वजनिक रूपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ, त्यसकारण त्यसले संकटलाई व्यक्त गरेकै छ, यो सबैले देखेकै कुरा हो,’ उनले भने ।

उनले कम्युनिस्ट पार्टीभित्र एकता चोचोमोचो मिलाएर नहुने बताए । ‘संघर्षकै माध्यमबाट एकता पनि बलियो हुने हो । पार्टीभित्र र बाहिर पनि हुने विचारको संघर्षले नेतृत्वलाई परिपक्व र एकताबद्ध बनाउने हो । संघर्ष र बहसभन्दा बाहिर तथाकथित एकताको माला जपेर एकता हासिल हुने होइन,’ उनले भने ।

विगतमा पार्टीमा नीति एउटाको तर नेतृत्व त्यसका विरोधीको हुने गरेको उल्लेख गर्दै उनले अहिले पनि त्यस्तै भएको संकेत गरे । ‘नीति र विचार एउटाको हुने तर नेतृत्व अर्कैको हुने भएको हो कि ! आज हामीले भोग्नुपरेको समस्याको चुरो त्यतै कतै छ कि भनेर वरिपरि हेर्नु जरुरी छ,’ उनले भने, ‘०१४ मा पुष्पलालको जनवादी क्रान्तिको नीति पारित भएर पनि राजापरस्त केशरजंग रायमाझी आउने जुन प्रवृत्ति देखियो, आज पनि हामीले त्यस्तो नहोस् भनेर हेर्नुपर्नेछ । त्यस्तै हुने हो भने ०१४ सालपछि जस्तो स्थिति आयो त्यस्तै हुनेछ ।’

एकता महाधिवेशनमा नपुग्दै पार्टी फुट्ने त होइन भन्ने आशंका रहेको उनले बताए । उनले कम्युनिस्ट पार्टीे सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर चल्ने भएकाले त्यस्तो सामूहिक नेतृत्व हामीले विकसित गर्न सक्यौं कि सकेनौं ? भन्दै प्रश्न गरे । ‘पार्टी भनेको विवेक हो, सरकार भनेको सत्ता हो । कम्युनिस्ट पार्टीमा विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सत्ता चलाउने हो । सरकारले पार्टीमाथि हैकम चलाउनेजस्तो स्थिति भयो भने त्यो तपाईं हाम्रो वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ,’ उनले भने, ‘पछिल्लो दुई वर्षलाई हेर्दा कतै विवेकले सत्तालाई चलाउने नभई सत्ताले विवेकलाई चलाउने अवस्था भएको हो कि ? समूहको अधीनस्थ व्यक्ति हुनेभन्दा व्यक्तिको अधीनस्थ समूह भएर जाने खतरा पो पैदा भएको हो कि ?’

उनले सुशासनको विषयमा पनि सरकारमाथि उठिरहेका प्रश्नहरूबारे टिप्पणी गरे । ‘हामीले जनतालाई सुशासन दिन्छौं भन्यौं तर शृंखलाबद्ध रूपमा उठिरहेका प्रश्न र भ्रष्टाचारबारे उठिरहेका प्रश्नहरूको निरूपणमा हामी कति सफल भयौं ?’ उनले भने ।

अध्यक्ष दाहालले ओलीको पक्षमा बाहिर भइरहेका प्रदर्शनमाथि पनि टिप्पणी गरे । ‘अहिले देशभरि केही कार्यकर्तालाई नारा–जुलुसमा लगाउने काम भएको छ । हामी पार्टीलाई कसरी मिलाएर लैजाने, विवाद कसरी मिलाउने, राष्ट्रिय मुद्दाहरूमा कसरी एकताबद्ध भएर जाने भन्ने छलफल र बहस गरिरहेका छौं, बाहिर जिन्दावाद र मुर्दावादका नारा लगाइएका छन् देशभरि,’ उनले भने ।

वरिष्ठ नेता नेपालले विधिको पालना नगरेर ‘मै स्टेट हुँ भन्दै हिँड्न थाले पतन शिवाय केही नहुने टिप्पणी गरे । ‘आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन,’ उनले भने । तर आफूसँगै आन्दोलनलाई समाप्त पार्ने काम कोहीबाट हुन नहुने धारणा राखे । ‘आफू सँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस्, यो मेरो शुभेच्छा वा सद्भाव हो, मलाई लाग्छ त्यो मूर्खतापूर्ण काम कसैले पनि गर्दैन,’ उनले भने, ‘तपाईंहरूलाई चिन्ता छ कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन । कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुट्नेवाला छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्