
महोत्तरीको जलेश्वर नगरपालिका–१० की ३० वर्षीया प्रोमिशा मिश्रा प्याड अभियान्ताको रुपमा काम गर्दै आएकी छिन् । कतिपयले उनलाई ‘प्याड वुमन’ पनि भन्छन् ।
मधेश क्षेत्र अर्थात् २ नम्बर प्रदेशका गाउँघरदेखि विद्यालयमा गएर महिनावारी हुँदा प्याडको प्रयोगबारे चेतना फैलाउँदै प्याड बनाउने तालिम समेत दिने गरेका कारण उनलाई धेरैजसोले ‘प्याड वुमन’ भनेका हुन् । अभियानमा मिश्रालाई अन्य ६ जना महिला अभियान्ताले साथ दिएका छन् ।
काठमाडौंको पुल्चोक इन्जिनीयरिङ कलेजबाट कम्प्यूटर इन्जिनीयरिङमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरिसकेकी मिश्रा काठमाडौंबाट इन्जिनीयरिङमा स्नातकोत्तर अध्ययन गर्दै छिन् । उनी १ नम्बर प्रदेशको विराटनगरस्थित नेपाल दूरसञ्चार कार्यालयमा सरकारी जागिरे पनि छन् ।
२०७४ सालतिर जनकपुरमा नै हुँदा मिश्रालाई केही न केही गर्नुपर्छ भन्ने लाग्यो । उनी महिनावारी भएको बेला अत्यधिक पेट दुख्ने समस्या भएका कारण महिनावारीको विषयमा नै केही काम गर्नुपर्छ भन्ने उनले सोचिन् । महिनावारी भएर पेट दुख्दा विद्यालय समेत जाने नपाएको अनुभव उनीसँग थियो । तसर्थ महिनावारीको बेला हुने गरेका समस्याबारे जनचेतना फैलाउन अत्यन्त आवश्यक रहेको उनलाई लाग्यो ।
उनी आफैंले सिरहामा २०० जना महिलामा महिनावारीको सर्वेक्षण गर्दा ६० जना महिलामा महिनावारी हुँदा धेरै दुखाइ हुने गरेको पाइयो । महिनावारीमा पेट दुख्दा पनि चुपचाप सहेर बस्ने र घरपरिवारका सदस्यलाई नबताउने गरेको तथ्य सर्वेक्षणमा उनले फेला पारिन् । जसबाट उनले प्रदेशभर भयानक समस्या हुनसक्ने आकलन गरिन् ।
सामाजिक सञ्जाल फेसबूकमा ‘मधेशी यूथ कनेक्ट’ नामक ग्रूपमा उनीसहित मधेशका धेरै युवायुवती जोडिएका थिए । उनले महिनावारी समस्याबारे केही न केही गर्नुपर्छ भनेर स्ट्याटस लेखिन् । ‘साथ दिन्छौं, काम गर्नुस्’ भनेर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया पाएपछि उनी झन् उत्साही भइन् ।

महिनावारी हुँदा घरमा ‘जे पायो त्यही’ कपडा प्रयोग गर्ने गरेका कारण मिश्राले केही महिलालाई प्याड किनेरै दिइन् । ‘महिनावारी हुँदा प्याड प्रयोग गर्नुपर्छ, राम्रो तरिकाले गोप्य अंगलाई सफा गर्नुपर्छ भन्ने जानकारी समेत दिन थाल्यौं,’ मिश्राले भनिन्, ‘महिनावारी भएको बेला कुरा लुकाउनु हुँदैन, पेट दुख्यो भने घरपरिवारका सदस्यलाई जानकारी गराएर चिकित्सकसँग सम्पर्क गर्नुपर्छ भन्दै गयौं ।’
केही समयपछि उनलाई बजारमा किन्न पाइने प्याडभन्दा पुनः प्रयोग गर्न सकिने कपडाकै प्याडबारे जानकारी प्राप्त भयो । ‘मैले आफैंले पनि त्यो पुनः प्रयोग गर्न सकिने रियूजेबल प्याड लगाउँदा कम्फर्ट फील गरे,’ उनले भनिन्, ‘सस्तो पनि र पुनः प्रयोग गर्न सकिने हुनाले त्यही प्याड हामी आफैंले बनाएर प्रयोग गर्नुपर्छ जस्तो लाग्यो ।’
उनले काठमाडौंमा प्याड बनाउने तालिमबारे कुरा गरिन् । शुरूमा ७ जना युवतीले तालिम लिए । मिश्रासँगै श्रीणु झा, प्रियंका ठाकुर, स्मृति झा, गुञ्जा मण्डल, स्नेहा झा समेतले प्याड बनाउने तालिम लिए । त्यसपछि आफूले तालिमबाट सिकेको सीपलाई मधेशमा समेत फैलाउनुपर्छ भन्दै उनले सिक्न चाहनेलाई सम्पर्क गर्न सामाजिक सञ्जालबाट आह्वान गरिन् ।


‘धनुषाको बघचौडा, भोइल र सिरहाको गोलबजार र कर्जन्हाको विद्यालयबाट तालिम दिन अनुरोध आएको थियो । हामीले फेसबूकमा समेत तालिमका लागि फन्डिङ गर्न अनुरोध गरेका कारण १५ हजार रुपैयाँ संकलन भएको थियो,’ मिश्राले भनिन्, ‘त्यही रकमबाट हामीले प्याड बनाउने सामग्रीसहित प्रशिक्षकहरू विद्यालय पुगेका थियौं ।’
विद्यालयमा अध्ययन गर्ने ५० जनाभन्दा बढी विद्यार्थीलाई प्याडको प्रयोग तथा प्याड बनाउने तालिम दिएको उनले बताइन् । त्यसपछि बाँकी ३ स्थानका विद्यालयमा पनि गएर तालिम दिइएको उनले बताइन् । ‘तालिममा २ वटा सेसन हुने गर्छ । पहिलो सैद्धान्तिक सेसन हुन्छ । जसमा महिनावारी के हो ? महिलालाई मात्रै किन हुने गर्छ ? महिनावारी हुँदा के गर्नुपर्छ ? के गर्नुपर्दैन ? आफूलाई हाइजिन कसरी राख्ने ? महिनावारी हुँदा प्याड कसरी प्रयोग गर्ने ? प्रयोग गरिसकेको प्याडलाई कसरी डिस्पोज गर्ने ? जस्ता कुराहरू सिकाउने गरिएको छ,’ उनले भनिन्, ‘यो २ देखि ३ घण्टाको सेसनपछि दोस्रो सेसनमा प्याड कसरी बनाउने भन्ने कुरा सिकाउने गरिन्छ । दोस्रो सेसन पनि ३ देखि ४ घण्टासम्मको हुने गर्छ ।’

२ नम्बर प्रदेशका रौतहटबाहेक ७ वटै जिल्लाका विभिन्न गाउँका विद्यार्थीदेखि गृहिणी महिला समेतलाई प्याड बनाउने तालिम दिइएको छ । हालसम्म ५ हजारभन्दा बढी व्यक्तिलाई तालिम दिएको उनले बताइन्, जसमध्ये १० प्रतिशत जति पुरुषलाई पनि तालिम दिइएको छ । महिनावारी हुँदा घरका पुरुषले कसरी व्यवहार गर्ने तथा औषधिको आवश्यकता भए के गर्ने लगायतको जानकारी पुरुषलाई समेत दिने गरिएको उनले बताइन् ।
‘विद्यालयमा तालिम दिँदा कुनै समस्या भएन तर गाउँघरका मानिस खास गरेर अभिभावकलाई बुझाउन शुरूमा समस्या हुने गरे पनि पछि विस्तृतमा बुझाउँदा खुशी हुने गरेका छन्,’ उनले भनिन्, ‘हामीले शुरूमा निःशुल्क सहयोग गरेर नै तालिम दिने गरेका थियौं तर धेरै ठाउँबाट माग हुन थाले पछि प्रशिक्षकको शुल्क तथा ट्राभल शुल्क लिएर तालिम दिने गरेका छौं ।’

काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक सहितका जिल्लामा पनि तालिम दिने गरिएको भए पनि मुख्य रुपमा २ नम्बर प्रदेशमा नै केन्द्रित भएर घरघरका महिलालाई महिनावारीबारे जागरूक बनाउँदै प्याड प्रयोग गरुन् भन्ने लक्ष्य रहेको मिश्राले बताइन् । महोत्तरीको जलेश्वर जेलमा रहेकी कैदीबन्दीलाई समेत जेलमै गएर तालिम दिएको उनले बताइन् ।
मिश्रा लगायत समूहले हालसम्म कुनै औपचारिक संस्था दर्ता गराएका छैनन् । ‘अब संस्था दर्ता गरेर प्याड बैंक सञ्चालन गर्ने सोचका साथ संस्थागत रुपमा नै अगाडि बढ्ने लक्ष्य राखेका छौं,’ उनले भनिन्, ‘अभियानका हामी सबै सातै जना कुनै न कुनै रोजगारीमा लागेका कारण समस्या भए पनि अब संस्थागत जानेछौं ।’

गाउँगाउँमा सिकाएर प्याड बनाउन लगाउने, प्याड बैंकमा संकलन गरेर राख्ने र बिक्रीवितरण गर्दै लैजाने लक्ष्यसहित अगाडि बढ्ने सोच रहेको उनले सुनाइन् ।
कतिपय छात्रालाई महिनावारी भएको बेला पेट दुख्ने गरे पछि फोन गरेर सल्लाह माग्ने गरेका उनले बताइन् । ‘पेन किलर औषधि खानुपर्यो वा चिकित्सक कहाँ जानुपर्ने हो त्यसबारे हामीले सुझाव दिने गरेका हुन्छौं,’ उनले भनिन्, ‘मधेशमा अहिले पनि महिनावारी भएको बेला के गर्ने वा नगर्ने भन्ने विषयमा घरपरिवारका पुरुष सदस्यलाई जानकारी नै हुँदैन ।’