
काठमाडौं, १९ वैशाख — भारतअधीनस्थ कश्मीरको पुंछ जिल्लास्थित नियन्त्रण रेखामा दुई भारतीय जवानको क्षतविक्षत लाश भेटिएपछि भारत र पाकिस्तानका बीच तनाव बढेर गएको छ ।

भारतीय सेनाले यसमा पाकिस्तानी सेनालाई नै सिधै दोषी ठह–याएको छ । प्रायः यस्तो हमलाका लागि पाकिस्तानी सेना समर्थित लडाकु वा उग्रवादीहरूलाई दोषी मानिन्थ्यो ।
पहिलोचोटि प्रस्ट रूपमा पाकिस्तानी सेनाको बोर्डर एक्सन टिमले नियन्त्रण रेखा पार गरेर भारतअधीनस्थ कश्मीरमा आएको अनि त्यहाँ तैनाथ एक जेसीओ र बीएसएफका एक हेड कन्स्टेबललाई मारेर नराम्ररी लाश क्षतविक्षत गरिदिएको भारतीय सेनाले जनाएको छ ।
भारत र पाकिस्तानबीच कुनै पनि संवाद नभएको बेलामा यस्तो घटना सार्वजनिक हुनु चिन्ताको विषय भएको बताइएको छ ।
यसबाट तनाव बढ्ने खतरा रहेको र भारतले अघिल्लोपटक झैं पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक गर्न सक्ने आशंका गरिएको छ । यस्तोमा पाकिस्तानको अर्को कदम के हुन्छ भन्न मुश्किल छ ।
अघिल्लोचोटि सर्जिकल स्ट्राइकको श्रेय लिएर सरकारले आफैं एउटा मानक बनाएको छ । त्यसभन्दा कम कारवाहीलाई ऊ आफैंले सही ठह–याउन सक्ने स्थिति छैन ।
भारतीय सेनाले यसैबीच पाकिस्तानलाई कडा जवाफ दिने बताइसकेको छ ।
यसले गर्दा पनि सरकारमाथि आक्रमणका लागि राजनीतिक दबाब परेको छ । सेना तयार देखिएपछि सरकार पनि निर्णायक स्थितिमा रहनुपर्ने देखिन्छ ।
बीबीसी हिन्दीबाट