०९ साउन २०८३, शनिबार

नेपाल लगायत छिमेकीहरूलाई भारतले चिढ्याइरहँदा पाकिस्तान र बंगलादेशबीच सम्बन्ध घनीभूत हुँदै

साउन ११, २०७७
नेपाल लगायत छिमेकीहरूलाई भारतले चिढ्याइरहँदा पाकिस्तान र बंगलादेशबीच सम्बन्ध घनीभूत हुँदै

केही हप्ताअघि बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमिनले पाकिस्तानी कूटनीतिकर्मी इमरान अहमद सिद्दीकीसँग भेटघाट गरेका छन् । त्यसलगत्तै बुधवार अपराह्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग फोनमा लामो कुराकानी गरे । 

यी दुई सरकारप्रमुखबीच पहिले पनि वार्ता हुने गरेको थियो तर ५० वर्षअघि तत्कालीन पूर्वी पाकिस्तानबाट अलग भएर स्वतन्त्र देश बनेको बंगलादेशले पाकिस्तानसँगको चिसो सम्बन्धलाई न्यानो बनाउने कोशिश गरिरहेको छ । 

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले प्रेस वक्तव्य जारी गरेर कुराकानीमा इमरान खानले कोभिड–१९ र बंगलादेशमा आएको बाढीबाट उत्पन्न परिस्थितिका विषयमा चर्चा गरेको जनाएको छ । उनले भारतअधीनस्थ कश्मीरको वर्तमान परिस्थितिका विषयमा विचार प्रकट गर्न भनेको र वाजेदलाई पाकिस्तान भ्रमणको निम्ता समेत दिएको बताइएको छ । 

ढाकामा बंगलादेशी र पाकिस्तानी कूटनीतिकर्मीहरू भएको भेटघाट र प्रधानमन्त्री स्तरमा भएको फोन कलले भारतको सामरिक र कूटनीतिक वृत्तमा केही मानिस भारतको पूर्वी सीमामा सम्भावित परिवर्तनका रूपमा हेरिरहेका छन् । 

पाकिस्तानले धर्म र संस्कृति समान भएको भन्दै बंगलादेशसँग निकटता बढाउन कोशिश गरिरहेको छ ।

पाकिस्तानको यस कोशिशलाई बंगलादेशको राजनीतिका विश्लेषकहरूले खतरनाक मानिरहेका छन् किनकि यो हुँदा उग्रवादी इस्लामिक समूह बलियो बन्ने र तिनीहरू भारतविरोधी भएको बताइएको छ । 

सन् १९७१ मा पूर्वी पाकिस्तान तत्कालीन पश्चिम पाकिस्तानबाट छुट्टिनुमा सांस्कृतिक भिन्नता पनि एक ठूलो कारण थियो । त्यसपछिका ५० वर्षमा दुई देशको सम्बन्ध चिसो नै थियो । 

तर ढाकास्थित पाकिस्तानी उच्चायुक्तको कार्यालयले सांस्कृतिक साम्यको कुरा उठाएपछि नेपाल र चीनसँग सीमाविवादमा अल्झिएको भारतको कान ठाडो भएको छ । 

यस विषयमा भारत सरकारको औपचारिक प्रतिक्रिया आएको छैन । तर सूत्रहरूले बताएअनुसार, भारत ढाकास्थित आफ्नो दूतावासका उच्च अधिकारीहरूलाई परिवर्तन गर्न खोज्दैछ । 

भारतको विदेश मन्त्रालयका पूर्व सचिव तथा ढाकामा भारतका पूर्व उच्चायुक्त पिनाक रञ्जन चक्रवर्ती भन्छन्, ‘बंगलादेशमा एक खेमाले पाकिस्तानसँग निकट सम्बन्ध बनाइरहन चाहेको छ । त्यो खेमा दुई देश विभाजन हुने पक्षमा पनि थिएन ।’

ढाकामा सानो स्वरमा पाकिस्तानसँगको सम्बन्ध राम्रो बनाउन पर्ने माग उठ्ने गरेका छन् । तर खुलेर कुरा गर्न चाहिँ कोही पनि चाहँदैन । 

तर पाकिस्तानसँग सम्बन्ध सुधार्न पहल गर्ने समूहले बंगलादेशका सम्भ्रान्तहरूलाई रोहिंग्या समस्या समाधानमा पाकिस्तानले सहायता गर्न सक्ने भनी सुझाव दिइरहेको बुझिएको छ ।

बंगलादेशमा लगभग १० लाख रोहिंग्याहरू शरणार्थीका रूपमा बसिरहेका छन् । तिनले जनघनत्व बढाउनुका साथै अन्य किसिमका समस्या पनि निम्त्याइरहेका छन् । 

अनि उनीहरू कुनै उग्रवादी क्रियाकलापमा सहभागी भए भने त्यसको परिणामा बंगलादेशका लागि कस्तो हुन्छ भन्ने विषयमा पनि चिन्ता व्यक्त गरिएको छ ।

यससँगै हालैका दिनमा बंगलादेशका अर्बौं डलर बराबरको परियोजना चीनले पाएको छ । चीनले बंगलादेशको सामानमा अनेक किसिमका करहरू माफी गरेको छ र साझा व्यापारलाई बढाएको छ । बंगलादेश पनि पाकिस्तान जस्तै चीनको पेटी सडक पहलको सदस्य राष्ट्र हो । 
 

बंगलादेशले उत्तरपूर्वी भारतका अनेकौं उग्रवादी समूहहरूलाई शरण नदिने अनि भारतसमक्ष सुपुर्दगी गर्ने काम गरिरहेको भए पनि भारतले टिस्टा र अन्य साझा नदीहरूको बाँडफाँडमा सम्झौता नगरेको भनी रोष राखेको छ । 

त्यसमाथि भारतमा नागरिकता संशोधन विधेयकको विवाद तथा सत्तारूढ भारतीय जनता पार्टीका केही नेताहरूले गैरकानूनी रूपमा बसिरहेका मानिस र बंगलादेशीलाई पर्यायवाची बनाएको अभिव्यक्तिका कारण बंगलादेशमा भारतप्रति आक्रोश छ । 

पिनाक रञ्जन चक्रवर्तीका अनुसार, पाकिस्तान र बंगलादेश नजिकिने कोशिश गरेर भारतलाई घेर्न खोज्दैछन् र यसलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्