२५ जेठ २०८३, सोमबार

बढी भाडा लिनेमाथि कारवाही

बढी भाडा लिनेमाथि कारवाही
फाइल फोटो

मन्थली नगरपालिका–९ पुराना गाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं जानुपर्ने भयो । पाँच वर्षदेखि बाथरोगबाट पीडित उनी लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं जान पाएका थिएनन् । 

लकडाउन अन्त्यको घोषणा भएपछि उनी काठमाडौं जान सदरमुकाम मन्थली झरे । मन्थली हिँडेर आए तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् । काठमाडौं जाने साधन पाउन उनलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौं जानपर्ने बाध्यतामा परेका उनले दिनभर काठमाडौं जाने साधन खोजे तर कतै भेटेनन् ।

त्यो रात उनको मन्थलीमै बास भयो । भोलिपल्ट बिहानैदेखि काठमाडौं जाने सवारीको खोजीमा लागे । दिनभरको प्रयासपछि बल्ल काठमाडौं जाने निजी बोलेरो भेटे । शरीरको दुखाई र दुई दिनको मन्थलीको गर्मीले गलेका उनी साँझपख प्रदेश ३­१०२३ च २४२६ नम्बरको बोलेरो चढे ।

गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । 'चालकले मन्थलीबाट काठमाडौं गएको भाडा रु दुई हजार ५०० भनेपछि  म त छक्क परेंँ', उनले भने, 'कुल ५०० रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५०० भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो । 

भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उनले सुनेका थिए । पाँच गुणा बढी भाडा लिएपछि उनले प्रतिवाद गरे । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैयाँ भाडा तिरेर उनी रातको १२ बजे काठमाडौंं पुगे ।

लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौंँ जान गाउँबाट मन्थली आए । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५०० देखि तीन हजरसम्म भाडा मागेपछि उनी पनि छक्क परे । गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा परेका उनी अन्तिममा टिकट नकाटी दुई हजार ५०० भाडा तिरेर काठमाडौं गए ।

यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयौंको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहुँचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउँछन् ।

अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दा बढी निजी सवारीलाई कारवाही गरिएको उनले बताए ।

बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनले चेकपोष्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरूसँग आग्रह समेत गरे ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौंं जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताइन् ।

उनले भने, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ ।' नवराज श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्