
काठमाडौं स्थायी घर भएका बस्नेत थरका एक डाक्टर छात्रवृत्तिमा एमडी अध्ययनका लागि चीन गएका थिए ।
यही बीचमा कोभिड– १९ (कोरोनाभाइरस)को महामारी फैलियो । महामारीको शुरूआत चीनबाटै शुरू भएको थियो । उनी नेपाल फर्किए ।
उता पढाइ बन्द भएपनि खातामा छात्रवृत्तिबापतको रकम (मासिक ३० हजार चिनियाँ युआन) आइरहेकै थियो ।
उनी यहाँ एक अस्पतालमा पार्टटाइम जागिर पनि गरिरहेका थिए ।
लकडाउनले गर्दा पैसा अभाव भएपछि उनले चीनमा रहेको बैंक खातामा आएको पैसा निकाल्ने सोच बनाए, तर नेपालबाट सम्भव थिएन ।
एकदिन सोसल मेसेजिङ एप ‘वि च्याट’ मा एउटा विज्ञापन देखे । चीनमा भएको पैसा नेपालमा पाउन सकिने भन्ने कुरा त्यसमा उल्लेख थियो ।
उक्त विज्ञापनले ती डाक्टरलाई स्वाभाविकरूपमा आकर्षित गर्यो ।
जुन ग्रुपमा विज्ञापन देखेका थिए, उनले त्यो ग्रुपलाई म्यासेज गरे ।
उनीहरूसँग लामो कुराकानी भयो, जसबाट उनलाई आफूले साँच्चै पैसा पाउने विश्वास भयो । त्यो ग्रुपको नाम थियो ‘पोस्मोगो प्लस’ ।
उनका साथीभाइ अन्य देशमा पनि छन् ।
बेलाबेलामा अन्य साथीभाइसँग पनि अनलाइनबाटै पैसा साट्ने गदर्थे । त्यसैकारण उनलाई अनलाइनप्रति विश्वास लागेको थियो ।
त्यो ग्रुपले उनलाई नेपालमा आफ्नो व्यापार रहेकाले चीनको पैसा उतैको खातामा दिनुस्, नेपालमा त्यस बराबरको नेपाली पैसा उपलब्ध गराउँछौं भनेको थियो ।
त्यसपछि उनले चीनको खातामा रहेको ३ लाख नेपाली रुपैयाँ बराबरको पैसा उनीहरूको खातामा हालिदिए, अनि नेपाली बैंकमा रहेको आफ्नो खाता नम्बर उपलब्ध गराए ।
उनको खातामा पैसा आउन पनि थाल्यो । कहिले ५० हजार, कहिले ३० हजार, कहिले ८ हजार र कहिले ७ हजार गरी पैसा थपिँदै गयो । किस्ताकिस्तामा भएपनि आफ्नो पैसा आइरहेको छ भन्नेमा उनी विश्वस्त थिए ।
कुल १ लाख ५१ हजार रुपैयाँ उनको खातामा जम्मा भएको थियो । तर त्यो पैसा भने उनको नभएर अरूकै थियो ।
अनलाइनबाट वान प्लसका मोबाइल र आइफोन तथा एयरफोन जस्ता सामान खरिदका लागि अरूले नै तिरेको पैसा उनको खातामा जम्मा भएको थियो ।
यसबीचमा एक्कासि महानगरीय अपराध महाशाखाबाट उनलाई फोन आयो । फोनमा भनियो, ‘तपाईंले ठगी गर्नुभयो !’
आफ्नो पैसा नै पूरा आइसकेको थिएन, उल्टै ठगीको आरोप लाग्दा उनी छाँगाबाट खसेजस्तै भए ।
त्यसपछि प्रहरीले उनको खातामा जम्मा भएको पैसाबारे रहस्य खोलिदियो ।
उक्त पैसा ठगिएका ९ जना व्यक्तिको थियो, जसले पैसा बुझाए पनि आफूहरूले सामान नपाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
ती डाक्टरले आफ्नो खातामा आएको अरूको पैसा फिर्ता गरे, तर आफ्नो पूरै ३ लाख रुपैयाँ गुमाए ।
****
हिन्दवेयरका मार्केटिङ म्यानेजर दीपक (नाम परिवर्तन) पनि ठगिने अर्का व्यक्ति हुन् । उनले अनलाइनमार्फत टेलिभिजन किन्नका पहिलो किस्तामा १३ हजार ५ सय रुपैयाँ बुझाए । पहिलो किस्ता पठाए पुग्छ भनेका थिए, तर पछि पूरै किस्ता पठाउनु पर्छ भने । गाह्रो नमानी उनले बाँकी रहेको १३ हजार ५ सय रुपैयाँ पैसा पनि पठाइदिए ।
सामान प्याक हुने बेलामा उनीहरूले फोन गरेर ‘भुलवश कर्मचारीले तपाइलाईं पठाउने टिभीमा आइफोन र वन प्लसको मोबाइल प्याक भयो । सामान पनि हिँडिसकेको छ, तपाईंको हातमा मोबाइल पर्यो भने तपाईं फिर्ता दिनुहुन्न, हामीलाई सेक्युरिटीका लागि ८० हजार दिनुपर्यो’ भने ।
अर्को एक जनाले फोन गरेर ‘तपाईंको सामान भन्सारमा अड्किएको छ, ८० हजार पठाइदिएपछि आउँछ’ भन्यो । त्यसपछि उनले आफ्नो २७ हजार उकास्नका लागि फेरि ८० हजार पनि पठाइदिए । तर, न सामान आयो न त १ लाख ७ हजार नै फिर्ता पाए ।
अझ समय–समयमा तेरो खातामा पैसा आएको छ त्यो पैसा अर्को खातामा पैसा ट्रान्सफर गरिदिनुपर्यो भन्नेका खालका फोन आउन थालेपछि उनी अपराध महाशाखामा उजुरी दिन पुगेका थिए ।
****
यी दुवै ठगीमा एकै वा एकअर्कासँग अन्तरसम्बन्धित समूह संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सामाजिक सञ्जालबाट हुने अपराधहरू नेपाल बाहिर बसेर गर्ने र नेपालमै बसेर गरे पनि पत्ता लगाउन अप्ठ्यारो हुने गरेको अनुसन्धानमा खटिएकी अपराध महाशाखाकी प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्दले बताइन् ।
‘नेपाललाई फेसबूक लगायतका सामाजिक सञ्जालहरूले खासै महत्त्व नदिने हुनाले अपराधी पत्ता लगाउन कठिन भएको छ,’ डीएसपी चन्दले लोकान्तरसँग भनिन् ।
अनलाइनमा सामान बेच्ने नाममा ठगी गर्नेहरूको संख्या बढ्दै गएको छ ।
सस्तो मूल्यसहित सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने र सामान नपुर्याउने खालका साइबरबाट अपराध बढेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।
‘पछिल्लो समयमा अनलाइनमा सामान राख्ने, अनलाइनबाटै पैसा लिने र सामान नपुर्याउने खालको अपराध बढेको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
पछिल्लो सयमा पोस्मोगो प्लस, बेमालास, नेपाल होलसेल एन्ड रिटेल मार्केट र फोन्स् भेन्डर लगायतका नामबाट सामाजिक सञ्जाल फेसबूक पेजमा आइफोन, वन प्लस र अन्य ब्रान्डका मोबाइल तथा अन्य सामानहरू बिक्रीमा राख्ने र अनलाइनबाट पैसा लिएर ठग्ने गरेको भन्दै त्यसबाट जोगिन प्रवक्ता कार्कीले अपिल गरे ।
नेपालको सामाजिक सञ्जाल कम्पनीहरूसँग सिधा सम्बन्ध नहुनाले सामाजिक सञ्जालबाट हुने अपराधहरूलाई न्यूनीकरण र अपराधी पत्ता लगाउन कठिन भएको उनको भनाइ छ ।
अनलाइन पेमेन्टको दुरुपयोग
पछिल्लो समय नेपालमा अनलाइन पेमेन्ट गर्ने कम्पनीलाई दुरुपयोग गरेर ठगी गर्ने गरेको पाइएको छ । नेपालमा रहेका अनलाइन पेमेन्ट कम्पनी ई–सेवा, फोन–पे, आईएमई–पे लगायतका अनलाइन पेमेन्ट गेटवे प्रयोग गरेर ठगी हुने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ठगले इसेवामा आईडी खोल्छ । आईडी एक जनाको नाममा हुन्छ, चलाएको अर्कैले हुन्छ । जो मान्छेको फोन नम्बर हो त्यो मान्छेले आफ्नो मोबाइल नम्बरबाट इसेवा चलेको छ भन्ने कुराको पत्तो समेत पाएको हुँदैन तर अर्कोले ठगिरहेको हुन्छ ।
यसरी अनलाइनबाट ठगिएको भन्दै प्रतिदिन सरदर ९ वटा उजुरी महाशाखामा आउने गरेका छन् ।
शुरूमा समाजिक सञ्जाल फेसबूक, इमो, भाइबरमा सस्तोमा सामान पाइन्छ भन्दै विज्ञापन राख्ने र त्यसका लागि प्रि–पेमेन्ट बुझेर सामान नपठाउने गरेको पाइएको महाशाखाकी साइबर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्दले बताइन् ।
‘अनलाइनबाट पैसा लिने तर सामान चाहिँ घरमा नपुर्याउने खालका ठगीहरू भइरहेका छन्, विशेष गरेर अनलाइन गेटवे इसेवा, फोनप लगायतमार्फत ठगी भएको पाइएको छ,’ डीएसपी चन्दले भनिन् ।