
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रवारदेखि आइतवार साँझसम्म ९२३ जनाको पीसीआर जाँच भएको छ । जसमध्ये ३५ जनामा कोरोना भाइरस संक्रमण ‘पोजेटिभ’ रिपोर्ट आएको छ ।
पोजेटिभ रिपोर्ट आएका सबै क्वारेन्टीन बाहिरका संक्रमित हुन् । जाँच गरिएकामध्ये १७७ जनाले शुल्क तिरेर जाँच गरेका थिए । संक्रमितमध्ये ४ जना बुटवल उपमहानगरपालिका भित्रकै हुन् ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोनाका लक्षण देखिएपछि शंका लागेर जाँच गर्दा पोजेटिभ देखिएको बताए । उनले लोकान्तरसँग भने, ‘संक्रमित होम क्वारेन्टीनमा हुनुहुन्छ ।’
५ नम्बर प्रदेशको बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पाइएको छ । शनिवार नेपालगञ्ज र कोहलपुर नगरपालिकामा समुदायमा रहेका ४ जनामा कोरोना संक्रमण देखियो । आइतवार यातायात व्यवस्था कार्यालय बाँकेका एक जना कर्मचारीमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन डा. नरेश श्रेष्ठले जानकारी दिए ।
‘हामी ठूलो भोलुममा समुदायको पनि पीसीआर जाँच गर्ने योजनामा छौं,’ श्रेष्ठले भने, ‘कपाल काट्ने सलुन, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, बढी भीडभाड हुने यातायात कार्यालय, निजामती कर्मचारीहरू जाँच गर्दा फाटफुट रूपमा बाहिर संक्रमण देखियो । अब जाँच बढाउनुपर्छ । नत्र कोरोना समुदायमा तीब्र रूपमा फैलिन सक्ने जोखिम बढ्यो ।’
बर्दियामा पनि सञ्चारकर्मीसहित केही क्वारेन्टीन बाहिरका व्यक्तिमा पनि संक्रमण देखिएको छ । लकडाउन अन्त्यसँगै बजारमा भीडभाड बढ्दा कोरोनाको जोखिम झनै बढेको छ ।
भारतबाट लुकीछिपी आउनेहरू आइरहेकै छन् । प्रदेश सरकारले समुदायस्तरमा नमूना संकलन गरेर परीक्षण गर्ने बताए पनि परीक्षण थालेको छैन ।
देशमा लकडाउन भएको ४० दिनपछि ५ नम्बर प्रदेशमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । २०७७ वैशाख १९ गते रुपन्देही र बाँकेमा कोरोना संक्रमित फेला परेका थिए । प्रदेशमा आइतवारसम्म ४ हजार १८५ जना संक्रमित पुगेका छन् । आइतवार मात्रै ४ जना संक्रमित थप भएका छन् ।
समाजमा कोरोना खोज्ने तयारीमा प्रदेश सरकार
प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले क्वारेन्टीन बाहिर बढी जोखिम भएका क्षेत्रमा १ हजार २०० जनाको स्वाब लिएर जाँच गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘अझै समुदायमा संक्रमण पुगेको छैन तर सचेतना अपनाउनुपर्ने छ । १–२ संक्रमित छिटफुट रुपमा देखिएका छन् ।’ समुदायस्तरमा कोरोनाको प्रभाव थाहा पाउन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन भएको चौधरीले बताए ।
समुदायस्तरमा नमूना संकलन गर्न पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन थालिने छ । अर्घाखाँची, नवलपरासी, रुपन्देही, बर्दिया, कपिलवस्तु र दाङबाट १ हजार २०० जनाको नमूना संकलन गरिने छ । जसमा धेरै जनसम्पर्क हुने स्थानहरू वित्तीय संस्था, अत्यावश्यक सामग्री विक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीबाट नमूना संकलन गरी परीक्षण गर्न लागिएको छ । यसले समुदायस्तरमा जोखिमको अवस्थाबारे जानकारी हुने र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना बनाइने जनाइएको छ । प्रदेशमा कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको छ ।
खाली भए क्वारेन्टीन
कोरोनाको उपचारका लागि प्रदेश सरकारले ४ वटा अस्पतालमा बनाएको छ । जसमा अहिले धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा २ जना मात्र संक्रमित छन् । जसमध्ये १ जना आईसीयूमा छन् । भैरहवास्थित अस्पतालमा अहिले १ जना पनि संक्रमित छैनन् ।
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा १८ जना मात्र संक्रमित छन् । दाङको बेलझुण्डी कोरोना अस्पतालमा १९ जना संक्रमित उपचाररत छन् । स्वाब संकलन गरिएकामध्ये ९८ प्रतिशत स्वाबको रिपोर्ट आइसकेको छ । जाँच भएकामध्ये ८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये ९३ प्रतिशत डिस्चार्ज भएका छन् । मृत्युदर ०.०१ प्रतिशत रहेको छ । १२ वटै जिल्लामा संक्रमण पुष्टि भएको छ । प्रदेशका क्वारेन्टीनमा आइतवारसम्म ३ हजार १०० जना मात्र छन् । जेठको दोस्रो हप्ता प्रदेशका क्वारेन्टीनमा ४२ हजार व्यक्ति पुगेका थिए ।
कुन जिल्लामा कति संक्रमित ?
कपिलवस्तु – ७७६
दाङ – ६५८
पाल्पा – ५५९
बाँके – ४१०
गुल्मी – ३६०
अर्घाखाँची – ३२८
रुपन्देहीमा – ३३२
प्युठान – ३३५
बर्दिया – २३२
नवलपरासी पश्चिम – २२१
रोल्पा – ७३
रुकुमपूर्व – १५