०१ असार २०८३, सोमबार

लकडाउनका बेला विदेशमा ४५६ नेपालीको मृत्यु

साउन १४, २०७७
लकडाउनका बेला विदेशमा ४५६ नेपालीको मृत्यु

लकडाउनका बेला विभिन्न देशमा ४५६ नेपालीले ज्यान गुमाएका छन् । यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन ।

कोरोनासँगै आत्महत्या लगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ ।

मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए । निर्देशक गुरुङका अनुसार कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ ।

‘यो अवधिमा कोरोना भाइरसबाट मात्र नेपालीले ज्यान गुमाएका छैनन्, यहाँ आत्महत्याको पक्ष पनि छ,’ उनले भने, ‘जागिर गएको र लकडाउनका कारण उकुसमुकुस भइरहेको अवस्थामा आत्महत्या गर्नेको संख्या बढेको होला ।’

सामान्य समयभन्दा लकडाउन अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढेको उनको भनाइ छ । ‘अरू बेला यति छोटो समयमा यति धेरै थिएन जस्तो लाग्छ,’ उनले भने, ‘यो बेला मृत्यु हुने संख्या बढेको हो कि जस्तो देखिएको छ ।’

विभागको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा सबैभन्दा बढी साउदी अरबमा १ सय ५८ नेपालीले ज्यान गुमाएका हुन् । यही अवधिमा यूएईमा ८०, कतारमा ७५, मलेसियामा ६६, कुवेतमा २२, जेद्दाहमा १३, बहराइनमा १०, दक्षिण कोरियामा ८ र अन्य मुलुकमा १४ जनाले ज्यान गुमाएको देखिन्छ ।

यही अवधिमा ९८ नेपालीको शव नेपाल ल्याइएकोे छ । साउदीबाट ५३, कतारबाट २३, कुवेतबाट १०, बहराइनबाट ७, जेद्दाहबाट २, यूएई, मलेसिया र अन्य राष्ट्रबाट १/१ जनाको शव नेपाल ल्याइएको विभागको तथ्यांकले देखाउँछ ।

१६४ जनाको शव विदेशमै दाहसंस्कार गर्न उनीहरूका परिवारले मञ्जुरी दिएका छन् । विभागका अनुसार यूएईमा ५८, साउदीमा ३७, कतारमा २५, कुवेतमा १०, मलेसियामा ८, दक्षिण केरियामा ५, बहराइनमा ३, जेद्दाहमा ३ र अन्य मुलुकमा १५ जना नेपालीको शव दाहसंस्कार गर्ने मञ्जुरीनामा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

८५ जनाको शव स्वदेश ल्याउन निवेदन परेको विभागले जनाएको छ । जसमध्ये साउदीबाट ३९, यूएईबाट १३, मलेसियाबाट १२, कतारबाट १०, दक्षिण कोरियाबाट ३, कुवेतबाट २, जेद्दाहबाट १ र अन्य मुलुकबाट ५ नेपालीको शव स्वदेश फिर्ता ल्याउन निवेदन परेको विभागले जनाएको छ ।

१०९ जनाको शव भने स्वदेश ल्याउने तयारी छ । मलेसियाबाट ४५, साउदीबाट २९, कतारबाट १७, यूएईबाट ८, जेद्दाहबाट ७ र अन्य मुलुकबाट ३ शव ल्याउन लागिएको विभागले जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्