
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अचम्मको दृश्य देखियो ।
प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले एकलौटी ढंगले स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले भेला गरे ।
ओलीको आँगनमै भएको २ जना आमन्त्रित सहित ३१ जना स्थायी कमिटी सदस्यहरूको भेलालाई ओलीले 'गुटगत' भेलाको संज्ञा दिएका थिए ।
पटक-पटक स्थगित भएको स्थायी कमिटीको बैठक मंगलवार ११ बजे बालुवाटारमा गर्ने तय भएको थियो ।
अधिकांश स्थायी कमिटीका सदस्यहरूले आफू बालुवाटार आउँदाआउँदै बाटैमा बैठक स्थगित भएको सूचना पाए । 'अर्को सूचना नआएसम्म स्थायी कमिटी बैठक स्थगित' भनेर नेताहरूको मोबाइलमा म्यासेज गएको थियो ।
प्रचण्ड-नेपाल समूहका एक स्थायी कमिटी सदस्य भन्छन्, 'बैठक स्थगित गर्ने सूचना एकतर्फी रूपमा आयो । अध्यक्षद्वयबीच संवाद र सहमतिका लागि थप समय चाहिने भन्दै बैठक स्थगित गरिएको सूचना पाएपछि हामीले थप बुझ्यौँ । यताबाट बैठक स्थगित हुँदैन तपाईंहरू आउनुहोस् भन्ने खबर आयो र हामी बालुवाटार आयौं ।'
बालुवाटारमा शीर्ष नेताहरू पुगिसकेका थिए । अधिकांश स्थायी कमिटी सदस्यहरू पनि पुगिसकेका थिए । अध्यक्ष प्रचण्ड भने १५ मिनेट ढिलो पुगे । एउटा अध्यक्ष ओलीतिरबाट बैठक स्थगित भएको सूचना पाउनु र अर्को अध्यक्ष प्रचण्ड बालुवाटारमा आउन ढिलो गर्नुले प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूमा थप बेचैनी बढेको थियो ।
करीब साढे ११ बजे सबै बैठक हलमा छिरे । तर के गर्ने, बैठक कहाँबाट शुरू गर्ने भन्ने प्रश्न कायमै थियो । सधैंजस्तो आजको बैठक थिएन । केही नेताहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई प्रधानमन्त्रीसँग गएर कुराकानी गर्न आग्रह गरेपछि दुवै नेताहरू ओलीको कार्यकक्षतिर लागे ।
प्रचण्ड र खनालले गरेको ओलीसँगको छलफल पनि सौहार्दपूर्ण देखिएन । 'मैले मेरो तर्फबाट बैठक स्थगित गरिसकें,' ओलीको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'तपाईंहरू जे गर्ने हो, जसो गर्ने हो गर्नुस् । हुन त तपाईंहरू अन्त पनि यस्ता भेलाहरू गर्दै हिँड्नुहुन्छ । आज पनि तपाईंहरूको त्यस्तै हो ।'
प्रचण्ड र खनालको प्रश्न थियो - 'स्थायी कमिटी बैठक बोलाउने र स्थगित गर्ने निश्चित विधि र प्रक्रिया हुन्छन्, तपाईले एकतर्फी रूपमा किन रोक्नुभयो ?'
ओलीको जवाफबाट असन्तुष्ट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल बैठक हलमै फर्किए । त्यसपछि बैठक शुरू भएको सूचना बाहिर दिइयो ।
'अध्यक्ष र वरिष्ठ नेता खनाल फर्किसक्नुभएको छ,' स्थायी सदस्य लीलामणि पोखरेलले लोकान्तरसँग भनेका थिए, 'अब बैठक शुरू हुन्छ ।'
त्यति नै बेला प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले बैठक शुरू भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखे ।
बैठकमा फर्किएपछि प्रचण्डले ब्रिफिङ गरे, 'हामीले आजको स्थायी कमिटी बैठक नरोकौँ, धेरै सदस्यहरूबाट बैठक राख्न दबाब आएको छ भनेर प्रधानमन्त्रीलाई आग्रह गर्यौं । हामीले बरू बैठकका एजेण्डाअनुसार नै छलफल गरौँ र बाँकी विषय सचिवालयको बैठकमा छलफल गरेर एउटा निष्कर्षमा पुगौंला भनेका थियौं । तर प्रधानमन्त्रीले मान्नुभएन । मैले स्थगित गरिसकेँ, तपाईंहरू जे सुकै गर्नुस् भनेर भन्नुभयो, जुन राम्रो भएन ।'
सम्बोधनकै क्रममा प्रचण्डले पार्टी एक रहने र कुनै पनि नेता उत्तेजित भएर बाहिर बोल्न नहुने सुझावसमेत स्थायी कमिटी सदस्यहरूलाई दिएका थिए ।
'यसलाई स्थायी कमिटी बैठकको निरन्तरताका रूपमा बाहिर लिएर नजाऔँ, यसले थप विग्रह पैदा गर्न सक्छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'यसलाई बहुमत सदस्यहरूको भेला मात्र भनौं । थप संवाद र सहमतिका लागि हामी अझ बढी प्रयास गर्नेछौं ।'
प्रचण्ड बोलिसकेपछि उपाध्यक्ष वामदेव गौतमले यसरी अलग भेला गर्दा पार्टी एकता तोडिएको सन्देश जाने बताए ।
'यसरी अलग भेला गर्नु हुँदैन, यो भेला हो र यसलाई बैठक बदल्नु पनि हुँदैन,’ गौतमको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘पार्टी एकता जोगाउने हो भने मैले आज बिहान दुवै अध्यक्षसमक्ष पेश गरेको प्रस्तावलाई आधार मानेर अघि बढौँ ।'
उनले पार्टी एकता कसका कारण खतरामा पर्यो भन्दै प्रश्न समेत गरेका थिए । दुई अध्यक्षबीचको लडाईंमा आफू बीचमा नपर्ने उनको भनाइ थियो । यति धारणा राखेपछि गौतम भेलाबाट बाहिरिए ।
मंगलवार बिहान गौतमले पार्टीको विग्रह रोक्नका लागि भन्दै ६ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गरेका थिए ।
गौतमले प्रधानमन्त्रीका दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने लगायतका मध्यमार्गी प्रस्तावहरू पेश गरेका थिए ।
स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्र देखिएको गतिरोध दुई अध्यक्षको मात्र कुरा नभएकाले विधिसम्मत निकास खोज्न आग्रह गरे । उनले दुई अध्यक्ष मिल्दैमा पार्टीले निकास नपाउने बताए ।
‘दुई अध्यक्षको मात्र कुरा होइन, पार्टीलाई विधि, सिद्धान्त, मूल्य र मान्यताका आधारमा छलफल र निकास खोज्ने सन्दर्भको लडाईं हो,’ रावलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘नीति र सिद्धान्तका आधारमा पार्टी नचल्दा समस्या हुन्छ ।'
उनले नेकपा विवाद दुईवटा अध्यक्षबीचको मात्र लडाईं नभएको भन्दै सोही अनुसार निकास खोज्नुपर्ने बताए । यति भनेर रावल पनि भेलाबाट बाहिरिए ।
भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले बैठक अनौपचारिक जस्तो भएको लोकान्तरलाई बताए ।
'को कतिबेला बोल्ने भन्ने कुनै व्यवस्था थिएन,' उनले भने, 'एक हिसाबले हो-हल्ला जस्तो थियो । केही नेताहरूले बोल्न चाहिरहनुभएको थियो, तर कसरी, के विषयमा र कतिबेला बोल्ने भन्ने कुनै व्यवस्था थिएन ।'
उपाध्यक्ष गौतम र स्थायी कमिटी सदस्य रावल बोलेर बाहिरिएपछि जनार्दन शर्मा केही बोल्न खोजेका थिए ।
'हो-हल्ला भएकाले जनार्दन कमरेडले बोलेको खासै बुझिएन, तर उहाँले पनि पार्टी एकतालाई तोड्ने काम नगर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो,' ती स्थायी कमिटी सदस्यले भने ।
भेला सकिएपछि बालुवाटार परिसरमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले छिटो स्थायी कमिटी बैठक राख्ने पहलकदमी गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको बताए ।
'यस अप्ठ्यारो परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारू गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्यो', श्रेष्ठले भने ।
उनले भेलाले दुईवटा निर्णय गरेको सुनाउँदै थपे, 'अध्यक्ष कमरेड केपी ओलीले बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको ठहर आजको भेलाले गरेको छ । आजको स्थायी कमिटीको बैठकको मिति र समय यसअघिकै स्थायी कमिटीको बैठकले निर्णय गरेको थियो ।'
प्रधानमन्त्री ओलीका पक्षमा स्थायी कमिटीमा बहुमत नपुगे पनि ओलीइतर समूहका नेताहरूको धारणा बाझिएको छ ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको राजीनामा नमाग्ने स्पष्ट लाइन लिएका छन् । आजको भेलामा आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी भएका थिएनन् ।
गत वैशाखको तेस्रो साताजस्तै अहिले सचिवालयमा ओलीको पक्षमा बहुमत जुटेको टिप्पणी भइरहेका छन् ।
ओली पक्षका एक नेताले लोकान्तरसँग भने, 'उहाँ (प्रचण्ड-माधव)हरूले आफ्नो वास्तविक शक्ति जान्न खोज्नुभएको थियो, देख्नुभयो होला । यसरी कहीँ पनि पुगिँदैन ।'
यद्यपि पार्टी एकताका लागि अन्तिमसम्म पहलकदमी गर्ने भन्दै भेलाबाट छुटेका प्रचण्ड र महाधिवेशनबाट मात्र नेतृत्व हस्तान्तरण गर्ने अडानमा रहेका ओलीले संवादको शुरूआत र निरन्तरता कसरी गर्छन् भन्ने कुराले नेकपाको भविष्य तय गर्छ ।
बालुवाटार भेलाका 'झाँकी' : चिर्कटो च्याताच्यात, माधव नेपाल मौन !
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको मंगलवार बालुवाटारमा भएको भेलामा स्थायी समिति सदस्य एवं कृषि मन्त्री घनश्याम भुसालको हातमा रहेको कागज तानातान भएको खुलेको छ ।
ओलीपक्षीय स्थायी कमिटी अनुपस्थित उक्त भेलालाई बैठक नभनी भेला भन्नुपर्ने र अर्को बैठक दुई अध्यक्षले सहमति गरेर छिट्टै डाक्ने प्रस्ताव भुसालले बैठकमा सुनाएपछि केहीबेर चर्काचर्की भएको थियो ।
भुसालले उक्त प्रस्ताव सानो नोटमा लेखेर पढेर सुनाउँदै थिए ।
उनले पढेर भ्याई नसक्दै मंगलवारको भेलालाई बैठक भन्नुपर्ने, आफूखुशी भेला भनेर व्याख्या गर्न नपाइनेजस्ता तर्क गर्दै शुरूमा नेपालपक्षीय स्थायी कमिटी सदस्य रघुजी पन्त भुसालमाथि जाइलागे ।
‘यो भेला होइन, बैठक नै हो, पार्टीमा कसैको मनपरी चल्दैन,’ पन्तले भनेका थिए, ‘तपाईं (घनश्याम भुसाल)लाई यो बैठक होइन भेला भन्ने अधिकार कसले दियो ? मनपरी चल्छ ?’
यति भन्दै रघुजी पन्त आफ्नो सिटबाट जुरुक्क उठे, भुसाल भएको ठाउँमा पुगे र भुसालको हातमा रहेको कागज तान्न खोजे । एकछिन भुसालको हातमा रहेको कागज तानातान भयो । र कागज आंशिक रूपमा च्यातिन पुग्यो ।
त्यो दृष्य चलिरहँदा पन्तलाई साथ दिँदै अर्की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि पटक–पटक स्थायी कमिटी बैठक सारिएकोमा आपत्ति जनाइन् ।
आफ्नो स्थानबाट उठेर आक्रोशपूर्ण मुद्रामा उनले भनिन्, ‘पार्टी कसैको पेवा होइन, विधि पद्धति र मूल्य मान्यतामा चल्नुपर्छ । व्यक्तिगत लहडमा जे पायो त्यही हुँदैन ।’
पन्त र शाक्यलाई उही शैलीमा अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले पनि साथ दिए ।
बेदुरामले आफ्नो ठाउँबाट उठेर घनश्यामको प्रस्तावमा असहमति जनाए अनि पार्टी विधि पद्धतिमा चल्नुपर्ने भनाइ राखे ।
रोचक के रह्यो भने आफू पक्षीय स्थायी कमिटी सदस्यहरू नै एकआपसमा बाझाबाझ गरिरहँदा माधव नेपालले भने कुनै प्रतिक्रिया जनाएनन् ।
यो दृष्य देखिरहेका अध्यक्ष प्रचण्डले चाहिँ सबैलाई शान्त रहन आग्रह गर्दै अर्का अध्यक्ष ओलीसँग सहमति गरेर बैठकको मिति तय गर्ने जानकारी गराए ।
मंगलवार बिहान ११ बजेको समयमा प्रधानमन्त्री ओलीको सचिवालयबाट स्थायी कमिटी बैठक स्थगित भएको सूचना आएलगत्तै उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्ताव सार्वजनिक भएको थियो ।
स्थायी कमिटी बैठकको स्थगन र वामदेवको प्रस्तावपछि राजनीति एकाएक तरंगित हुन पुगेको थियो ।
त्यही तरंगका बीच अध्यक्ष प्रचण्ड, झलनाथ र माधव नेपाल आफू निकट स्थायी कमिटी सदस्यलाई लिएर बालुवाटार पुगेका थिए ।
बालुवाटार पुग्नासाथ प्रचण्ड र झलनाथले ओलीसँग भेट्न खोजे । स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई पनि ओलीसँग भेट्न सँगै जाऊँ भनेर आग्रह गरे ।
‘तर माधव नेपालले तपाईंहरू भेट्नुस् म जाँदिन भन्नुभयो । पछि बैठक चलिरहँदा पनि उहाँ आज केही बोल्नुभएन । उहाँको मौनता रहस्यमय छ,’ स्रोतले थप्यो, ‘साउन ९ गते शुक्रवार राति ९ देखि ११ बजेसम्म ओली र नेपालबीच भएको गोप्य तर विशेष बैठककै प्रभावस्वरूप माधव नेपालले आज कुनै प्रतिक्रिया नजनाएको हाम्रो अनुमान छ ।’
स्रोतका अनुसार साउन ९ गते राति स्कर्टिङविना नै नेता नेपाल बालुवाटार पुगेका थिए । त्यहाँ उनले राति ११ बजेसम्म ओलीसँग विशेष कुराकानी गरेको स्रोतको दाबी छ ।
यद्यपि ओली नेपालबीच के विषयमा छलफल या सहमति भयो भन्ने विषय बाहिर आइसकेको छैन ।
मंगलवारको भेलामा प्रभावशाली स्थायी कमिटी सदस्य भीम रावलले पार्टीमा विधि, पद्धति र मूल्य मान्यता स्थापित गराउन आफूहरूले संघर्ष गरेपनि बाहिर गलत सन्देश गएको भन्दै आपत्ति जनाएका थिए ।
‘हाम्रो अहिलेको यो संघर्ष भनेको पार्टीका दुई अध्यक्षबीच के लिने, के दिने भन्नेबीच होइन । तर बाहिर त्यस्तै सन्देश गइरहेको छ, यो ठीक भएन । पार्टी विधि, पद्धति, सिद्धान्त र मूल्य मान्यतामा चल्नुपर्छ, दुई अध्यक्षबीचको लेनदेनमा हाम्रो टाउको गन्ने काम हुँदैन,’ बैठकमा रावलले राखेको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।
ओलीपक्षीय नेताहरू अनुपस्थित हुँदाहुँदै चलेको प्रचण्ड–नेपाल भेलालाई विभिन्न कोणबाट अर्थपूर्ण रूपमा हेरिएको थियो ।
कतिपयले उक्त भेलाले ओलीविरुद्ध बहुमतीय आधारमा निर्णय लिन सक्ने आशंका समेत गरेका थिए । तर दृष्य त्यस्तो देखिएन । भेलाको शुरूमै प्रचण्डले पार्टी एकता जोगाएर जाने अभिव्यक्ति दिए ।
प्रचण्डले नै स्थायी कमिटी बैठक अर्का अध्यक्षले स्थगित गरेकाले आजको यो हाम्रो जमघट हो, बैठकका लागि अर्का अध्यक्षसँग छलफल गरेर निष्कर्षमा पुगौँ भन्ने प्रस्ताव गरेका थिए ।
यसरी भेला सामान्य जमघटमै टुंगिएको थियो ।
प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भैंसेपाटीमा छलफल
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच मंगलवार साँझ भेटवार्ता भएको छ ।
गौतमलाई भेट्न प्रधानमन्त्री ओली मंगलवार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए ।
नेताद्वयबीच नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको सहयोगीहरुले जनाएका छन् ।
मंगलवार मात्र उपाध्यक्ष गौतमले अगाडि सारेको ६ बुँदे प्रस्तावले नेकपाभित्र नयाँ तरंग ल्याएको छ ।
गौतमको प्रस्तावले प्रधानमन्त्री ओलीलाई उत्साहित बनाएको ठानिएको छ ।
मंगलवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाल समूहका नेताको भेलामा गौतमले आफूले राखेको प्रस्तावमा निकास खोज्न आग्रह गरेका थिए ।
मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, अस्पताल, संसद भवन र सिंहदरबारबाहेक बाहिर गएका थिएनन् ।
लामो समयपछि ओली गौतम निवासमा पुगेर राजनीतिक भलाकुसारी गरेका हुन् ।
ओली र गौतमबीचको भेटवार्तालाई निकै महत्व र चासोका साथ हेरिएको छ ।
सुनिल थापा कांग्रेस प्रवेश
केही दिनअघि मात्र राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
थापा पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा हुन् ।
मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले थापालाई स्वागत गरे ।
थापालाई पार्टीमा उचित स्थान दिइने देउवाको भनाइ थियो ।
पार्टी प्रवेशपछि बोल्दै थापाले राप्रपामा सूर्यबहादुर थापाको विचार लोप भएको बताए ।
आफ्नो बुवाको विरासत जोगाउन आफू कांग्रेस प्रवेश गरेको उनको भनाइ थियो ।
प्रहरीमा कोरोना संक्रमण बढ्दो, लकडाउन खुलेपछि झन् जोखिममा
सोमवार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यालय प्रमुख प्रहरी उपरीक्षकसहित १८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो ।
यसभन्दा अगाडि स्याङ्जा जिल्ला प्रहरीमा साउन ६ गते ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा रोजगारीमा गएका र आफन्तलाई भेट्न गएका नेपालीहरूलाई सुरक्षा दिने काम गरिरहेका ३ जना प्रहरीमा कोरोना देखिएको थियो ।
ती प्रहरीलगायत अन्य प्रहरीहरूले क्वारेन्टीन बनाउने, भारतबाट आएका मानिसहरूलाई सुरक्षा दिने लगायतका काम गर्दै आएका थिए । त्यहाँबाट नै कोरोना सरेको प्रहरीको निष्कर्ष छ ।
‘यहाँबाट सरेको भन्ने एकिन तथ्याङ्क नभएपनि क्वारेन्टीनमा भएका मानिसहरूको सुरक्षा, ओसारपसार गर्दा सरेका हुनसक्ने हाम्रो अनुमान छ, किनकी त्यस बाहेक उहाँहरू अन्य ठाउँमा गएको ट्राभल हिस्ट्री छैन,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले भने ।
सामान्य रुघाखोकी लागेका ती ३ जना प्रहरीलाई कोरोना हो की भन्ने शंका लागेपछि असार ४ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला जनस्वास्थ्य कार्यालयसँग सम्पर्क गरेर कोरोना परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
त्यस लगत्तै साउन ७ र ८ गते जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवा सहित १ सय २ जना प्रहरीको स्वाब संकलन गरिएको थियो ।
साउन १२ गते ४ जना थुनुवा र १४ जना प्रहरीमा कोरोना देखिएको प्रवक्ता अधिकारीले बताए ।
‘४ जना थुनुवा सहित १ सय २ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जना थुनुवा र १४ जना प्रहरीहरू हुनुहुन्छ,’ डीएसपी अधिकारीले लोकान्तरलाई भने ।
भारतबाट आएका १ सय ९६ जनालाई क्वारेन्टीनमा राखिएको थियो । जसमध्ये कोरोनाका कारण २ जनाको मृत्युसमेत भएको थियो भने १९ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रवक्ता अधिकारीले बताए ।
यस्तै आइतवार प्रहरी प्रधान कार्यालयका ४ जनामा कोरोना पुष्टि भएको थियो । प्रहरीका सवारी चालक र मेकानीक्सहरूमा कोरोना देखिएको थियो ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरजबहादुर शाहीका अनुसार ती चालक र मेकानीस्कहरूको कुनै ट्राभल हिस्ट्री देखिदैन । उनीहरू प्रहरीका बिग्रिएका सवारी बनाउन र ती सवारी प्रहरीको ग्यारेजमा ल्याउने काम मात्र गरेको पाइएको छ ।
पछिल्लो समयका कोरोनाभाइरसको संक्रमणका कारण अग्रपंक्तिमा खटिने प्रहरीहरू जोखिममा देखिएका छन् । स्रोत र साधनको अभावका कारणले गर्दा पनि उनीहरूमा कोरोनाको जोखिम हुने गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आवश्यक सावधानी अपनाउन भने पनि फिल्डमा खटिने प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने पीपीई, मास्क, पञ्जा, स्यानिटाइजर लगायतका सुरक्षाका सामाग्रीहरु प्रयोग गरेको देखिँदैन ।
‘आफ्नै मात्रै कति मास्क र स्यानिटाइजर किनेर चलाउने ? भनेको समयमा किन्न पनि सकिँदैन । एउटा मास्कले ४/५ दिन चलाउन पर्ने अवस्था छ,’ बालाजुमा फिल्डमा खटिएका एक प्रहरी जवानले लोकान्तरसँग भने ।
सरकारले लकडाउन खुलाएपछि प्रहरी झन् जोखिममा देखिएका छन् । शान्ति सुरक्षालगायत सवारी व्यवस्थापनमा अग्रपंक्तिमा खटिने प्रहरीहरू मानिसहरूसँग प्रत्यक्ष रुपमा सम्पर्कमा आउँछन् । चाहे त्यो सवारी जाँच होस्, या नाकामा मानिसहरूको चेकजाँचमा होस् ।
उपत्यका छिर्ने मुख्य नाका नागढुङ्गामा खटिएका प्रहरीले उपत्यका छिर्ने मानिसहरूको झोला जाँच, पास जाँच गर्दा नजिकैबाट गरेको दृश्यहरू देखिन्छ ।
‘बाहिरबाट आउने मानिसहरूको सवारी जाँच गर्नै पर्यो । झोलाहरूमा अवैध बस्तु छन की त्यो पनि जाँच गर्नु पर्यो । ३ महिना अगाडि पाएको पीपीई पनि फाट्न लागिसक्यो के गर्नु नगरी भएन्,’ एक प्रहरी हवल्दारले लोकान्तरलाई सुनाए ।
यस्ता समस्या ती प्रहरी हवल्दारको मात्र होइन् फिल्डमा खटिने प्राय जसो प्रहरी जवानहरूको पनि छ ।
अहिलेसम्म १ सय ८४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको नेपाल प्रहरी केन्द्रिय कार्यालय नक्सालको तथ्याङ्कले देखाउँछ भने निको भएर सेवामा ९९ जना फर्किएका छन् ।
सबैभन्दा धेरै प्रहरी जवान ९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै प्रहरी उपरीक्षक (एसपी) १, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ६, प्रहरी नायब निरीक्षक (सई) ८, प्रहरी सहायक निरीक्षक (असई) १२, प्रहरी हवल्दार ५४, प्रहरी जवान ९९ र प्रहरी कार्यालय सहयोगी ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रहरी प्रवक्ता निरज शाहीले बताए ।
यस्तै उपत्यकामा ४० जना, प्रदेश नम्बर १ मा २७ जना, प्रदेश २ मा २४ जना, गण्डकी प्रदेशमा २९ जना, ५ नम्बर प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा २७ जना, सुदूर पश्चिम प्रदेशमा १३ जना र बाग्मती प्रदेशमा ९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जेठ ३ गते पहिलो पटक बारामा क्वारेन्टीनमा कार्यरत १ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । उपत्यकामा पहिलो पटक जेठ ७ गते महानगरीय प्रहरी वृत कालिमाटीका २ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि देखिएको थियो ।