
भारतले चीनका थप मोबाइल यापहरूमा प्रतिबन्ध लगाएकोमा बेइजिङले त्यसको विरोध गर्दै भारतलाई गल्ती सुधार्न भनेको छ ।
आफ्ना व्यापारको सुरक्षाका लागि सबै आवश्यक कदम उठाउने चीनको भनाइ छ ।
भारतले आफ्नो राष्ट्रहितमा हानि पुग्ने गतिविधि ती मोबाइल यापहरूले गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।
उसले हालै ४७ थप यापमा प्रतिबन्ध लगाएको हो । यसअघि ५९ वटा यापमा उसले प्रतिबन्ध लगाएको थियो ।
कुल २५० वटा चिनियाँ यापमा भारत सरकारको नजर छ । खतरा मानेको यापलाई हटाइएको छ ।
चिनियाँ दूतावासका प्रवक्ता जी रोङले एक बयान जारी गरेर वीच्याट यापमा प्रतिबन्धको विषयलाई भारतीय पक्षसामु उठाएको बताए ।
उनले भने, ‘भारतले चिनियाँ यापमा प्रतिबन्ध लगाएर चिनियाँ कम्पनीहरूको वैध अधिकार तथा हितमा गम्भीर हानि पुर्याएको छ । चिनियाँ पक्षले भारतीय पक्षसामु यो कुरा उठाएर यसलाई गम्भीरतापूर्वक लिन तथा गल्ती सुधार्न भनेको छ ।’