
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब संकलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ।
नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो। विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो।
उक्त उपकरणबाट बुधबार सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५ सय ८ जनाको स्वाब संकलन गरिएको थियो।
सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिनृ जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ। दैनिकरुपमा ५ सयदेखि ७ सयजनासम्मले सजिलै स्वाव सङ्कलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ।
चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब सङ्कलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पिपिइर्, ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ।
यस भ्यानमा स्वाब सङ्कलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए।
स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पिपिई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी सङ्क्रमणमुक्त हुने प्रविधि यसमा जडित छ। भ्यानभित्रको निःसङ्क्रमित क्याबिनमा तीन स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध हुनेछ। यो भ्यानको प्रयोगबाट पिपिईमा लाग्दै आएको ठूलो रकम बचत हुने बताइन्छ।