
अमेरिकी डलरलाई त्याग्ने भनी वर्षौंसम्म कुरा गरेका रुस र चीनले अहिले आएर साँच्चै डलरमा आश्रय घटाएका छन् ।
सन् २०२० को पहिलो चौमासिकमा यी दुई देशबीच डलरको कारोबार ५० प्रतिशतभन्दा पनि कम रह्यो ।
चार वर्षअघि मात्र उनीहरूबीचको कारोबारमा ९० प्रतिशत भाग डलरकै हुने गर्थ्यो ।
मस्कोबाट प्रकाशित हुने दैनिक पत्रिका इज्भेस्तियाका अनुसार, डलर कारोबार अहिले ४६ प्रतिशतमा झरेको छ । डलर बाहेकको कारोबारमा चिनियाँ युआन (१७ प्रतिशत), युरो (३० प्रतिशत) र रुसको रुबल (७ प्रतिशत) छ ।
अन्तर्राष्ट्रिय व्यापारमा डलरको भूमिका घट्दै जानुमा अमेरिका र चीनबीचको व्यापारयुद्ध प्रमुख कारण हो । सन् २०२० मा यी दुई देशको सम्बन्ध थप बिग्रेको छ । कोभिड–१९ को जानकारी चीनले लुकाएको भन्दै अमेरिकी राजनीतिकर्मीहरूले दोष लगाएका छन् र राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडलाई चाइना भाइरस र कुङ फ्लु नाम दिने गरेका छन् ।
गत जनवरी महिनामा रुसका परराष्ट्रमन्त्री सर्गेई लाभ्रोभले क्रमशः डलरमा कारोबार घटाउँदै जाने र सम्भव भएसम्म स्थानीय मुद्रामा कारोबार गर्ने बताएका थिए ।
अमेरिकी आर्थिक नीति अनुमान गर्न नसकिने खालको र संसारको सञ्चित मुद्राका रूपमा डलरको हैसियतलाई वाशिङटनले अपचलन गर्ने गरेकाले डलरलाई अस्वीकार गर्नु सही हुने उनले बताएका थिए ।