लन्डनमा एक व्यक्तिको निजी संकलनमा रहेको नटराज भगवान् शिवको मूर्ति भारत फिर्ता ल्याइएको छ ।
ती व्यक्तिले लन्डनस्थित भारतीय उच्चायोगमा सन् २००५ मा बुझाएका थिए । त्यो मूर्ति राजस्थानको बरोलीमा रहेको घाटेश्वर मन्दिरबाट सन् १९९८ मा चोरी भएको हो ।
चोरी भएको दुई दशकभन्दा बढी समय बितेपछि मूर्ति भारत फिर्ता ल्याइने भएको हो । चार फीट अग्लो मूर्ति आर्कियोलोजिकल सर्भे अफ इन्डियालाई बिहीवार बुझाइएका छन् ।
भारतीय अधिकारीहरूले सन् २००३ मा बेलायतलाई मूर्ति लन्डन पुर्याइएको खबर दिएका थिए । त्यसपछि निजी संकलकले स्वेच्छाले उक्त मूर्ति भारतीय उच्चायोगलाई बुझाएका थिए ।
अहिलेसम्म उक्त मूर्ति भारतीय उच्चायोगमै राखिएको थियो । सन् २०१७ मा आर्कियोलोजिकल सर्भेका अधिकारीहरूले मूर्तिको आधिकारिकता जाँच गरेका थिए ।