
पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
धवलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका– ७ बिम र बेनी नगरपालिका– २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो । गत असार २६ गते बिहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्याङ्की, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ ।
पहिरोले बस्तीभित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिरोले पुरेकाले शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ ।
पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घर बाहिर आकाशे पानीका लागि गाग्री थाप्नुपरेको छ । पहिरोले बस्ती नजिकै रहेका पानीको मुहान, पाइपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजनासहित मर्मत गर्नुपर्ने वडा सदस्य तिलकुमारी केसीले बताइन् ।
घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाइ, लुगा धुनसमेत समस्या भएको स्थानीयको भनाइ छ ।
वडाभित्र करिब १७ हजार जनसङ्ख्या रहेकामा २१ घर पहिरोले पुरिदिएको छ भने २०२ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जीवन बिताइरहेका छन् । करिब ४०० घरधुरी छ । पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने दुई जना बेपत्ता छन् ।
यता मालिका गाउँपालिका–७ बिममा समेत पहिरोले दुई करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ ।
बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटरमाथि रहेको रिजर्भ ट्याङ्कीमा पुर्याएर करीब १५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिरोले बगाएपछि खोल्साखोल्सीको पानी पिउन स्थानीय बाध्य छन् ।
बिमको बाइनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षति र ७० घर पहिरोको उच्च जोखिममा छन् ।
–––