
बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा ३८ किलोमिटर खण्डमा बाढीपहिरोले अवरोध पुर्याएपछि हिमालपारिको जिल्ला मुस्ताङमा खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
मनसुन सुरु भएसँगै पेट्रोलियम पदार्थको ढुवानी अनियमित भएको हो । असार २७ देखि बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डका दर्जनभन्दा बढी स्थानमा बाढीपहिरोले यातायात अवरुद्ध हुँदा मुस्ताङमा ग्यास र पेट्रोलियम पदार्थ ढुवानी ठप्प छ । मुस्ताङमा नेपाल आयल निगमको डिलर नभएकाले व्यवसायीले बेनी र पोखराबाट ब्यारेल (२ सय २० लिटर क्षमताको ड्रम) मा भरेर डिजेल, पेट्रोल ल्याई प्लास्टिक बोटलमा भरेर बेच्ने गर्छन् । ग्यास पनि पोखराबाटै सिलिन्डर भरेर लैजाने गरिएको छ ।
ग्यास अभाव हुँदा ठूलो संख्यामा रहने सुरक्षाकर्मी, कर्मचारी र मजदुर समुदाय बढी प्रभावित छन् । बजारमा ६ सय लिटर डिजेल, ५० लिटर पेट्रोल र ५०–६० वटा ग्यास सिलिन्डर मात्र स्टक भेटिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
‘पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि हाहाकार नै भएको छ । गुनासोपछि बजार अनुगमन गर्दा पेट्रोलियम पदार्थको स्टक नै रहेनछ । मुस्ताङबाट पनि सडक मर्मत गर्दै तल झर्न खोज्दा डोजर चलाउने इन्धन भएन,’ प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले भने, ‘असारे विकासले पनि एक्कासि पेट्रोलियम पदार्थ सकिएको हो । इन्धनको जिल्लामा डिपो नभएको तर ठेकेदारले समयमा स्टक नराख्दा समस्या भयो ।’ पेट्रोलियम पदार्थसँगै निर्माण सामग्री ढुवानी पनि रोकिएकाले मुस्ताङमा सञ्चालित विभिन्न पूर्वाधारका योजना प्रभावित भएका छन् । पानी नपर्ने र गर्मी मौसम भएकाले मुस्ताङमा वैशाख–भदौ पूर्वाधार निर्माणको उपयुक्त समय हो । ‘लकडाउनले अवरुद्ध योजना लकडाउन खुलेसँगै मुस्ताङमा पूर्वाधार निर्माणको कामले गति लिएको थियो । तर लामो समयदेखि सडक अवरुद्ध भएपछि निर्माण सामग्री ढुवानी रोकिएकाले काम प्रभावित भएका छन्,’ गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले भने, ‘तर काम गर्ने मुख्य सिजनमा मजदुर र निर्माण सामग्री ल्याउन नपाउँदा योजनाहरू प्रभावित भएका छन् ।’
पेट्रोलियम पदार्थको अभाव बढेसँगै मुस्ताङमा सञ्चालित राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकको लेत–जोमसोम–कोरला खण्डमा भइरहेको कामसमेत धेरै योजना प्रभावित भएका छन् । कान्तिपुर दैनिकमा घनश्याम खड्काले खबर लेखेका छन् ।