०९ साउन २०८३, शनिबार

अमेरिकाको दादागीरी नसहन युरोपलाई चीनको सुझाव

साउन १८, २०७७
अमेरिकाको दादागीरी नसहन युरोपलाई चीनको सुझाव

चीनका परराष्ट्मन्त्री वाङ यीले फ्रान्सेली समकक्षीसँग फोन वार्ता गर्दै अहिले चलिरहेको अन्तर्राष्ट्रिय तनावका विषयमा कुराकानी गरेका छन् ।

सबै मुलुकले विश्व शान्ति तथा विकासको सुरक्षा गर्नका लागि कुनै पनि किसिमको एकपक्षीय वा प्रभुत्ववादी गतिविधिको प्रतिकार गर्नुपर्ने उनले बताए । 
 

वाङले स्पष्ट रूपमा अमेरिकालाई इंगित गरेका हुन् । ‘हेपाहालाई सहिरहेर तपाईं सुरक्षित रहनुहुन्न । यसले हेपाहालाई थप बहादुर बनाएर खराब काम गर्न प्रेरित गर्छ ।’

अमेरिकाले छाडा तथा उत्तेजक क्रियाकलाप गर्दै अन्तर्राष्ट्रिय कानून व्यवस्थालाई अवमूल्यन गरिरहेको वाङले बताए । उसका षड्यन्त्र सिद्धान्त र शीतयुद्ध संकथनले विश्वलाई नै भिडन्तको स्थितिमा पुर्‍याएको वाङको भनाइ छ । 

चीनले यसरी स्पष्ट कुरा राखेर युरोपलाई वाशिङटनसामु दह्रो गरी उभिन चेतावनी दिएको छ । त्यसो नगर्दा संसार नर्कतिर धकेलिने वाङको भनाइ छ । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले युरोप पुगेर कम्युनिस्ट चीनविरुद्ध लोकतान्त्रिक मुलुकहरूको साझेदारी बनाउन आह्वान गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । 
 

पोम्पेओ र उनका मालिकहरूले कस्तो किसिमको साझेदारीको सोच राखिरहेका हुन् भन्ने कुराको झलक अमेरिका र बेलायतले चीनमाथि लगाएको एकपक्षीय प्रतिबन्धबाट नै पाइन्छ । वाशिङटनले चाहेको यस्तो हो : सोभियत संघविरुद्ध पहिलो शीतयुद्ध जस्तो गरी संसारलाई विभाजन र कित्ताकाट गर्ने । 

‘हामी विरुद्ध उनी’हरूको यस द्वन्द्वमा त्रास र शंका भरपूर रहन्छ । तर त्यसले शून्यवाद र भिडन्तको स्थिति ल्याउँछ र विश्वयुद्धको सम्भावना पनि जन्माउँछ । 

अमेरिकी शासकहरू के चाहन्छन् भन्ने कुरा अब स्पष्ट भइसकेको छ । उनीहरू वाशिङटनको छत्रछायाँमा संसारभरि प्रभुत्व जमाउन चाहन्छन् । 

युरोपले चीनसँगको सम्बन्ध तोडोस् भन्ने उनीहरूको चाहना हो र दास मनोवृत्ति भएको बेलायतले त त्यो गर्न थालिसक्यो । रुसविरुद्ध प्रतिबन्ध लगाएर युरोपले पनि त्यही गरिसक्यो । 

अमेरिकाको प्रभुत्ववादी क्रियाकलपाको प्रमाण युरोपेलीहरूसँग छैन भन्न मिल्दैन । ट्रम्प प्रशासनले युरोपेली मुलुकहरूलाई आयात शुल्क लगाउने धम्की दिएको, इरान आणविक सम्झौता त्यागेको, रुससँग नोर्ड स्ट्रीम २ ग्यास परियोजना परित्याग गर्न धम्की दिएको अनि अमेरिकाको हतियार उद्योग तथा दिवालिया पल्टेको कर्पोरेट पूँजीवादलाई पुनः जगाउनका लागि नाटोमा बढी पैसा खर्च गर्न युरोपलाई पेलेको सबैले देखेकै छन् । 

अमेरिकाका प्रविधि कम्पनीहरूले गुप्तचर निकायसँग मिलेर युरोपका देशहरूविरुद्ध साइबर जासूसी गरेको अनि उनीहरूको सुरक्षा र सार्वभौमसत्तालाई नजरअन्दाज गर्दै गर्दा रंगेहात पक्राउ परेको सबैलाई थाहा छ । जर्मनीकी चान्सलर अंगेल मर्कललाई अमेरिकाले जासूसी गरेको थियो, चीन र रुसले हैन । 

त्यसैले चीनका परराष्ट्रमन्त्रीले युरोपेली संघलाई बताएका कुरा तथ्यगत छन् र विभिन्न घटनाक्रमले त्यसको पुष्टि गरिसकेका छन् । चीन शत्रु हैन । सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको सम्मान हुने बहुपक्षीय विश्वमा चीन एक साझेदार हो । 

शत्रु त अमेरिकाको हेपाहापन हो । युरोपको मुखैअगाडि यी तथ्यहरू विद्यमान छन् । 

यो चुनौतीको सामना गर्न युरोपेली मुलुकहरू अब के गर्छन् ? अन्तर्राष्ट्रिय कानूनको पक्षमा र अमेरिकाको साम्राज्यवादी हेपाहापनविरुद्ध उभिने हिम्मत तथा राजनीतिक इच्छाशक्ति उनीहरूसँग छ त ? 

रुस, चीन र अन्य बहादुर साना मुलुकहरूले त्यसरी उभिने आँट देखाएका छन् । अनि त्यस सैद्धान्तिक अडानका लागि उनीहरूको दानवीकरण र अपमान गरिएको छ । 

युरोपका केही पिछलग्गू र कथित स्वतन्त्र सञ्चारमाध्यम वाशिङटनले तय गरेको घृणित एजेन्डा लागू गर्न लाजै पचाएर लागिपरेका छन् । 

तर त्यसो गरेर उनीहरू अन्तर्राष्ट्रिय तनावलाई चर्काउने काम मात्र गरिरहेका छन् । अमेरिकाको राक्षसी सोचलाई तुष्टीकरण गर्दै उनीहरू आफ्नै जीवन कठिन बनाइरहेका छन् । 

इतिहासमा यस्तो मोड आइसकेको छ जसबाट भाग्न अब सहज छैन । युरोपले कठोर निर्णय लिनैपर्ने हुन्छ । अमेरिकाको प्रभुत्वको प्रतिकार गर्दै विश्व सुरक्षालाई कायम गर्न युरोप तयार छ ?
 

स्पुतनिकन्युजमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्