
काठमाडौं, २० वैशाख –काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी दर्ता गराएका राजुराज जोशीले आफू मेयरमा विजयी भए महानगरलाई ‘वाइफाइ फ्रि जोन’ बनाउने प्रतिवद्वता जनाएका छन् । काठमाडौंको प्रदूषण नियन्त्रण आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए ।
काठमाडौंको सडकको धुलो नियन्त्रण, फोहोर तथा ढल निकास, पुनर्निर्माणलाई तिब्रता दिने लगायतका विषय आफ्नो प्रमुख एजेण्डाको रुपमा रहेको उनले लोकान्तरलाई बताए ।
महानगरपालिकामा मेट्रो रेल कुदाउने, फ्लाई ओभर बनाउने, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन गर्ने बेरोजगारी समस्या समाधान गर्ने लगायतका मुद्दा आफ्नो चुनावी एजेण्डा रहेको उनले बताए । काठमाडौंलाई गौरवको शहर बनाउने उनको दावी छ ।
‘म ५० हजार भोटले माथि छु’ उम्मेदवारी दर्ता गरेपछि मेयरका प्रत्यासी जोशीले आफ्नो जित सुनिश्चित भइसकेको दावी गरे । ‘हामीले निर्वाचनअघि नै जितिसकेका छौं,’ उनले भने । आफू बलियो भएकाले कसैसँग तालमेल गर्न जरुरी नरहेको उनले बताए ।