कोही किन कांग्रेस बनोस् ?

नेपालमा मात्रै नभएर संसारभरि राजनीतिक दलहरू उनीहरूको झगडा र वैचारिक तथा राजनीतिक लडाईंका लागि परिचित छन् । यही लडाईंको कारणले गर्दा गुटको जन्म हुन्छ । सिद्धान्त र विचारधारा राजनीतिक पार्टीको एउटा यस्तो छाता हो, जसले राजनीतिक पार्टीका सदस्यहरू र उनीहरूका समर्थकहरूलाई एकजुट गर्दछ ।

समय, काल र परिस्थितिमा विचार र सिद्धान्तलाई परिवर्तन गर्नका लागि विचार मन्थन हुनुलाई नराम्रो मान्नु हुँदैन । नेपाली कांग्रेसको इतिहासमा गुट केवल पदका लागि बनेको पाइन्छ । राजनीतिक दल गुटमा रूपान्तरण हुनुलाई विनाशकारी कार्यको रूपमा लिइन्छ । संगठनभित्र विचारको लडाईंका लागि बनेका गुटहरूलाई केही हदसम्म राम्रो मानिन्छ तर पदका लागि बनेका गुटले संगठनलाई खोक्रो बनाएर एकदिन संगठनलाई नै समाप्त पारिदिन्छ ।


Advertisement

बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । अहिलेको नेतृत्व धृतराष्ट्रको जस्तो छ, ऊ केवल आफ्नालाई मात्र देख्छ ।

नेपाली कांग्रेसमा पाण्डव र कौरव दुवै छन् । उनीहरूको बीचमा पदका लागि मात्र लडाईं चलिरहेको छ । यो लडाईंबाट आउने पिँडी पाण्डवको हुनेछ, तर पाण्डवपछिको पिंडीले परिक्षितले कलिको प्रभावमा परी भरत वंश सकाएर द्वापर युगको अन्त्य गरेजस्तै नेपाली कांग्रेसको पनि अन्त्य गर्नेछ ।


Advertisement

विक्रम संवत् २०१५ सालमा १०९ जना नेपाली कांग्रेसका सांसदमध्ये ७४ जनाले पञ्चायती व्यवस्था ल्याउन हस्ताक्षर  गरेका थिए भनेर विश्वबन्धु थापाले एउटा अन्तर्वार्तामा भनेका थिए । जुनसुकै काल, परिस्थिति र पार्टीमा पनि अवसरवादीहरू हुन्छ्न् ।

केका लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ? म किन कांग्रेस बनुँ ? यो अहिलेको पुस्ताबीच जकडिएको जटिल प्रश्न हो ।

गगन थापाजस्ता युवा नेताहरूको आफ्नै कमी कमजोरी होलान्, तर उनीहरूको यहाँसम्मको यात्रा पनि गुटको राजनीतिबाटै भएको हो । क्याम्पसमा विद्यार्थी राजनीति शुरू गर्दादेखि नेविसंघको अध्यक्ष  लगायत विभिन्न पदमा बस्दै  कांग्रेसको केन्द्रीय कार्यसमितिसम्मको यात्रा विनागुट २०४६ सालभन्दा पछाडिको राजनीतिमा सम्भव भएको देखिँदैन। धरैजसोको राजनीतिक संस्कारमा गुट छ । जो जसरी उदय भयो त्यसले आफूलाई त्यसरी नै अगाडि बढाउँछ । संस्कार परिवर्तन सजिलै हुँदैन ।

विचारबाट उदय भएका भए  परिवर्तन हुन सजिलो हुन्थ्यो, तर गुटबाट उदय भएकाहरूबाट ठूलो आशा गर्न सकिँदैन । २०४६ सालभन्दा अगाडि नेताहरू विचारबाट जन्मन्थे । त्यसैले त्यो बेला गुट हुँदैन थियो । यदि भैहाल्यो भने पनि कम हुन्थ्यो । अहिले विद्यार्थी राजनीतिदेखि नै गुटको शुरुआत हुन्छ । युवा नेताहरूमा आफूभन्दा अगाडिको पुस्तालाई आदार गर्ने संस्कार नै छैन । उनीहरूमा न त सिक्ने जोश र जाँगर नै छ, न त मलाई केही आउँदैन भनेर मनन गर्ने संस्कार नै छ । त्यो हुनु भनेको आफूमा सर्वेसर्वा हुँ भन्ने दम्भ रहनु पनि हो । राम्रो नदेखिएला बेग्लै कुरा तर मिनिलियल र जेन जी पुस्ताको चरित्र यही नै हो ।

प्रविधिको जमानामा सबै प्रश्नको जवाफ सजिलै गूगलले दिन्छ तर ती सबै उत्तर सही हुन् कि होइनन् भनेर प्रमाणित गर्न बुद्धिको आवश्यकता हुन्छ, जसलाई आफैंले निखार्नुपर्छ । त्यो अहिलेका नेपाली कांग्रेसका नेताहरूमा बिरलै पाइन्छ । नेपाली कांग्रेसभित्र विचारको मूल्य सस्तो छ, तर तथ्यहरू महंगा छन् । त्यस्तै लेख्ने धरै छन् तर पढ्ने कोही छैनन् । कुनैपनि पार्टीको सबैभन्दा महत्त्वपूर्ण कुरा सिद्धान्त हो । जब सिद्धान्त रहँदैन तब पार्टी रहँदैन । प्रचारवादीहरूले सिद्धान्तलाई खासै वास्ता गर्दैनन् । उनीहरूलाई केवल लोकप्रिय हुनु छ । लोकप्रिय हुनु सामूहिक गतिविधि पनि होइन । केवल आफू मात्र लोकप्रिय हुन चाहने प्रवृत्तिले संगठनलाई फाइदा पुर्‍याउँदैन ।

३२ लाख मतदाता भएको पार्टीको संगठनको खराब संरचना हुनु, ज्ञान व्यवस्थापन र प्रतिभा व्यवस्थापनबारे कुनै कार्ययोजना नहुनुले के कुरालाई इंगित गर्छ ? ७०% नेताहरू १ लाखभन्दा महंगो मोबाइल फोन बोक्छन् तर त्यसको सही सदुपयोग गर्न आउँदैन । उनीहरूले ५०% मिनिलियल र जेन जीलाई शासन गर्नुपर्छ, जसले एक पटकमा ५ वटा उपकरण (फोन, ट्याब्लेट , कम्प्युटर, गेम्स कन्सोल, संगीत प्लेयर) चलाउँछन् । यो पुस्ता बीचको अन्तराल उमेरले भन्दा पनि ज्ञानले  भएको देखिन्छ । पुरानो  पुस्ताले  नयाँ पुस्तालाई  बुझ्न  नसक्ने कारण  बहुमुखी ज्ञान नहुनु  पनि हो ।

जुन पार्टी सही बाटोमा नै हिँडेको छैन त्यो पार्टी कसरी गन्तव्यमा पुग्न सक्छ? नेपाली कांग्रेसलाई री-इञ्जिनीयरिङ गर्नुपर्ने हुन्छ । यहाँ लडाईं उमेरको होइन विचारको हुनुपर्छ । जबसम्म नयाँ पुस्ताले पुरानो पुस्तालाई फाल्ने चलन रहिरहन्छ तबसम्म नेपाली कांग्रेसको भविष्य अन्धकारमय नै रहनेछ । नेपाली कांग्रेस समावेशी हुनुपर्छ ।  ६५ वर्षभन्दा  माथिको  जनसंख्या  झन्डै  ६ %  छ जसले  बाँकी सबैलाई नेतृत्व गरेको छ । ( उमेरको आधार जनसंख्या वितरणका लागि  ग्राफ हेर्नुहोला)

एकातिर नयाँ पुस्ताले पुरानो पुस्तालाई  विधा गर्नुपर्छ भन्दै गर्दा पार्टीमा उमेरको हदबन्दी भन्दा पनि काम गर्ने क्षमता र त्यसको परिणामको आधारमा मूल्यांकन गर्नुपर्ने  आवश्यकता छ । पुरानो ड्राइभरको रेखदेखविना नयाँ ड्राइभरलाई गाडी चलाउन दिँदा दुर्घटना हुने सम्भावना भएजस्तै  नयाँ पुस्ताले  यत्रो इतिहास बोकेको पार्टीको अस्तित्व समाप्त गरिदियो भने इतिहासले कुनैपनि कांग्रेसलाई माफ दिने छैन।

नेपाली कांग्रेसले आफूलाई सबै वर्ग र समूहको साझा पार्टी बनाएर सन्देशमूलक काम गर्ने हो भने यसमा ३ पुस्ता (नाति, बुवा, हजुरबुवा) विभिन्न जात, धर्म र वर्गलाई समात्ने कडी हुनुपर्छ । हाम्रो सामाजिक संरचना जस्तो छ पार्टी पनि त्यस्तै हुनुपर्छ, तब मात्र पार्टी र समाजसँग सहयात्रा गर्न सक्छ, नत्र एउटा वर्गसँग अर्को वर्ग र एउटा पुस्तासँग अर्को पुस्ता सदैव रुष्ट रहिरहने छ।

महाभारतमा अन्धो धृतराष्ट्रले निकम्मा छोरालाई चुनेजस्तै कलीयुगमा आँखा देख्ने नेपाली जनताहरूले मुर्ख नेताका लागि बलिदान दिँदै आइरहेका छन् । त्यस्तै राजनीतिमा सैद्धान्तिक पक्ष पनि ठूलो कुरा हो ।

जब सिद्धान्त मर्छ तब विचारधारा पनि मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । राजनीतिमा विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन यसले राजनीतिक वैधानिकताको उद्देश्य परिपूर्ति गर्दछ । विचारधारा विना सिद्धान्त, सिद्धान्त विना प्रतिष्ठा र प्रतिष्ठा विना राजनीति हुँदैन ।

जब विचारमा विचलन आउँछ तब जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या भनेको नेतृत्व होइन विचार हो । समय, काल र परिस्थितिअनुसार पात्रहरू परिवर्तन हुन्छन् तर प्रवृत्ति भने परिवर्तन हुँदैन । दुःखका साथ भन्नुपर्दा नेपाली कांग्रेसको नेतृत्वमा बस्ने २०४६ यता आएर प्रवृत्ति परिवर्तन भएन ।

जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।

जबसम्म सत्ताका लागि राजनीति र एकले अर्कोलाई अघि बढ्न नदिने राजनीतिक संस्कार रहिरहन्छ तबसम्म नेपाली कांग्रेस कहीँ पुग्ने छैन ।

सत्तामा जानु भनेको मोजमस्ती अनि आफ्नो स्वार्थ पूरा गर्नु हो भन्ने मान्यता विस्तारै बढ्दै गएको छ, र सत्तामा जाने भर्‍याङ नेपाली कांग्रेस बनेको छ । त्यस कारणले आज आएर नेपाली कांग्रेस म्यानपावर कम्पनीका मालिक, कन्स्ट्रक्सन कम्पनीका ठेकेदारहरू, व्यापारीहरू, गुण्डा, डन, बैंक सञ्चालकहरू र अन्य थैलीवाला सेठ-साहुहरूले भरिएको छ।

जब राजनीतिक पार्टीको विचार र मूल्यको विचलन हुन्छ तब जनताहरू विकल्प खोज्न शुरू गर्छन् । विवेकशील पार्टी जसले आफूलाई युवाहरूको पार्टी भन्छ, सो पार्टीको उदय हुनुमा नेपाली कांग्रेसको ठूलो हात छ । नेविसंघ र तरुण दलले ढंगको काम गरेको भए विवेकशीलको जन्म नै हुने थिएन । नेतादेखि कार्यकर्तासम्म नैतिक र सांस्कृतिक विचलन पनि अर्को गम्भीर समस्या हो ।

गुटको राजनीति कांग्रेसमा स्थापना कालदेखि नै थियो । रेग्मी गुट र बीपी गुट भनेर बीपीकै पालामा पनि गुट नभएको भने होइन । २०५० साल पछि कांग्रेसमा छत्तिसे र चौहत्तरे समूह बनेपछि गुटले वैधानिकता पायो । गुटभित्र बसेर गुट हुनुहुन्न र गुट भत्काउनुपर्छ भन्नु कसाइले हिंसा गर्नुहुन्न भने जस्तै हो ।

संगठनमा एकजुट हुनुको सट्टा गुट हावी भयो भने त्यसले केवल फूट मात्र निम्त्याउँछ । राजनीतिक दलहरूमा जब गुट हुन्छ तब  तिनीहरू फुटको  संघारमा पर्छन्, जसले राष्ट्रिय अखण्डतालाई अस्थिर पार्दै, गणतन्त्रको सार्वभौमिकतालाई कमजोर बनाई लामो समयसम्म नकारात्मक प्रभाव पार्नेछ । त्यसैले सामाजिक र राजनैतिक रूपमा राजनीतिक दलहरू एक मात्र  यस्तो साझा धागा हुन् जसले  राष्ट्रिय राजनीतिलाई बाँध्नुपर्छ ।

पार्टीभित्र आन्तरिक कलह र पार्टी विभाजनका कारण  पार्टीको विचारधारामा  विचलन, अनुशासनहीनता व्यक्तिगत र कुलीनतन्त्र को हावी हुनु, पार्टी नेतृत्वको संस्थागतकरण र पार्टी गठबन्धन नहुनु, पार्टीको औपचारिक कानूनी नियमहरूको अप्रभावकारिता,  समानुपातिक प्रणाली, प्रत्यक्ष निर्वाचन प्रणाली नहुनु हुन् । यी र यस्ता कुराहरूलाई मध्यनजर गरेर एकजुट हुने बाटोमा नहिँड्ने हो भने पार्टीको अस्तित्व विस्तारै धरापमा पर्नेछ ।

जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।

केका लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ? म किन कांग्रेस बनुँ ? यो अहिलेको पुस्ताबीच जकडिएको जटिल प्रश्न हो ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्