
लेबननका प्रधानमन्त्री हसन दियाबले औपचारिक रूपमा दिएको राजीनामालाई राष्ट्रपति मिसेल आयोनले स्वीकार गरेका छन् ।
अघिल्लो साता राजधानी बेरुतमा भएको भयंकर विस्फोटपछि जनताको आक्रोश चरमचुलीमा पुगेको छ र सरकार हट्नुपर्ने माग उठाइएको छ ।
सोमवार राति राष्ट्रको नाममा सम्बोधन गर्दै दियाबले विस्फोटको अपराधमा जिम्मेवारी लिनुपर्ने भनी जनताको गरेको आह्वानमा ऐक्यबद्धता जनाउने बताए । गहिरो गरी जमेको भ्रष्टाचारका कारण विस्फोट भएको दियाबको भनाइ छ ।
‘म यस भ्रष्टाचारलाई सुधार गर्न सक्छु जस्तो लाग्थ्यो तर यो राज्य र प्रणालीभन्दा विशाल छ । त्यसैले म यो सरकारकै राजीनामाको घोषणा गर्छु,’ उनले भने ।
मन्त्रीहरूले गर्नसक्ने जति सबै काम गरेको किनकि देशको माया उनीहरूलाई भएको उनले बताए । विपक्षीहरूले राजनीतिक लाभ उठाउनका लागि यस विपतलाई उपयोग गर्न खोजेको र राज्यमा बचेखुचेको कुरा पनि ध्वस्त पार्न चाहेको उनको आरोप छ ।
राष्ट्रपति आयोनले दियाबलाई नयाँ सरकार गठन नहुन्जेलका लागि कार्यवाहक भूमिकामा बस्न आग्रह गरेका छन् ।
लेबननी जनताले प्रणालीमा तत्काल परिवर्तन गर्नुपर्ने र गत साता भएको विस्फोटमा जवाफदेहिता वहन गर्नुपर्ने माग गर्दै बेरुतका सडकमा लगातार प्रदर्शन गर्दै आइरहेका छन् ।
दियाबले यसअघि संसदीय निर्वाचनको आह्वान गरेका थिए र कैयौं मन्त्रीले राजीनामा समेत दिइसकेका थिए । तैपनि जनताको आक्रोश मत्थर नभएकाले विरोध प्रदर्शन चर्किंदै गए । जनताको आक्रोशलाई सम्बोधन गर्न सरकारले तत्कालै कुनै कदम चाल्नुपर्ने आवश्यकता भइसकेको थियो ।
बेरुतको बन्दरगाहमा भएको विस्फोटमा परी २०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने हजारौं मानिस घाइते भएका थिए । अम्मोनियम नाइट्रेट विशाल मात्रामा बन्दरगाहको गोदाममा राखिएकाले त्यसमा आगोको झिल्को परी भयंकर विस्फोट भएको थियो ।