
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका आठजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
स्थगित परीक्षा सञ्चालन गर्नुपर्ने लगायत आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको तथा आफ्ना कार्यकर्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको भन्दै नेविसंघ कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा मंगलवार दिउँसो तोडफोड गरेका थिए ।
तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले लोकान्तरलाई जानकारी दिए ।
पक्राउ पर्नेमा नेविसंघका कार्यकर्ता सम्झना खत्री, सञ्जय चौधरी रामबहादुर थामी लगायत छन् ।
तोडफोडका कारण उपकुलपतिको कार्यालयको झ्यालका शिशा फुटेका छन् ।